७ भदौ (२०८३), लमजुङ । नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको १३औँ बैठकलाई आइतबार सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा सङ्गठनमा आवश्यक पुनर्गठन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टी सङ्गठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष गुरुङले बदलिँदो राजनीतिक परिवेश र जनताको अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने तथा पार्टीका गतिविधिलाई जनताका समस्या तथा आवश्यकतासँग जोडेर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
पार्टीका सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो ।
पार्टीभित्र भएका गल्ती कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले विगतका कमजोरीको समीक्षा गरी पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
सचिव अधिकारीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले जिल्ला कमिटीबाट सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रम, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनका विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, गण्डकी प्रदेश कमिटी सचिव धनन्जय दवाडि लगायत नेताहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । बैठकसँगै ‘मिसन पार्टी जागरण’ सम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो ।
पार्टीको नीति, विचार र कार्यशैली समयानुकूल रुपान्तरण गर्नुपर्छः उपाध्यक्ष गुरुङ
सेयर गर्नुहोस्
