detail-img

किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनमा उचित मूल्य दिन माग 

१५ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले  किसानलाई सरकारले करोडौं अनुदान होइन मल, बीउ र उत्पादनमा उचित मूल्य दिन माग गर्नुभएको छ । 
धान दिवसका अवसरमा शुभकामना सन्देश दिंदै महासचिव पोखरलले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकाले किसानलाई हुने ठूलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा  कृषि बिमा पूर्ण सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।  
कृषिमा दुई करोड रुपियाँ भन्दा बढी लगानी गर्ने किसानलाई अनुदानको घोषणा गर्नु नराम्रो नभए पनि आम किसानको भन्दा बढ्ता हैसियतको यो घोषणाले साना किसानलाई कुनै प्रभाव नपर्ने उहाँको भनाइ छ । 
‘सरकारले कृषिमा दुई करोड रुपियाँभन्दा बढी लगानी गर्नेहरुका लागि आकर्षक अनुदानको घोषणा गरेको छ । व्यावसायिकता र आधुनिकीकरणका लागि यो कदम आफैंमा नराम्रो होइन’ महासचिव पोखरेलले सन्देशमा लेख्नुभएको छ– तर प्रश्न उठ्छ के आम नेपाली किसानको हैसियत त्यति ठूलो लगानी गर्न सक्ने बनेको छ र ?
कृषि र किसानको प्रशंसा गर्दै उहाँले भौतिक रुपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्व नघटेको प्रष्ट पार्नुभएको छ । सरकारले यो वास्तविकतालाई स्वीकार्नुको साटो अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र मझौला किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभएको छ– वर्तमान सरकार नीति तथा कार्यक्रममै घोषणा गरेर मध्यम वर्गको पोषण को कुरा गरिरहेको छ, मध्यम वर्ग आफैं पनि सङ्घर्ष गरेर जीउन सक्ने तर उत्पादनको काममा अहोरात्र जुटिरहेको भुँइमान्छेलाई राज्यको ओत र संरक्षणको बढी आवश्यकता पर्दछ ।