१३ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आफू कृतसङ्कल्पित रहेको बताउनुभएको छ ।
पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा राय सुझाव सङ्कलनका लागि आज जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय भेलालाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले खाएको धक्कालाई चिर्दै पार्टीलाई राष्ट्रिय शक्ति बनाउन आफू लागिरहेको स्पष्ट गर्नुभयो ।
उहाँले देश, पार्टी र आन्दोलनका लागि योगदान गर्न जरुरी रहेको बताउँदै यस परिस्थितिमा पार्टीमा बलियो एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।
पार्टीले २०४६ सालको जनआन्दोलन, २०४७ सालको संविधान निर्माण, प्रतिगमनविरुद्धको आन्दोलन, संविधान सभाबाट संविधान जारी गर्ने जस्ता काममा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको तथा संविधान निर्माणपछि सरकारको नेतृत्व गर्दा ऐतिहासिक र असाधारण काम गरेकोे चर्चा गर्दै अध्यक्ष ओलीले एकता र सहकार्यको बाटो लिँदा सधै सफलता हासिल गरेको विगत स्मरण गराउनुभयो ।
उहाँले आफ्नो नेतृत्वको सरकारले मधेशको विकासका सन्दर्भमा हुलाकी बाटोलाई राजमार्गका रुपमा परिणत गर्ने लगायत धेरै काम गरेको बताउनुभयो ।
सत्तामा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सङ्घीयता खारेजीको प्रस्ताव पारित गरेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले देशमा कुन शासन प्रणाली ल्याउन खोजिएको हो, कहाँ पुग्न खोजिएको हो ? थाहा नभएको बताउनुभयो ।
सङ्घीयताका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको समयमा एउटा धारणा र सत्ता सञ्चालन गरिरहँदा अर्को धारणा पारित गरी द्वैध चरित्र प्रकट गरेकोे भनाइ उहाँले राख्नुभयो ।
देशमा सङ्घीयताका लागि मधेशमा भएको आन्दोलन स्मरण गर्दै अध्यक्ष ओलीले मधेशबाट रास्वपाको महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरूले सङ्घीयता सम्बन्धी प्रस्तावमा छलफल नै नगरी पारित गरेकोमा आश्चर्य प्रकट गर्नुभयो ।
उहाँले देशका विरुद्ध षडयन्त्र भइरहेको र देश फाँसीवाद र नाजिवादतर्फ गइरहेको उल्लेख गर्दै शान्ति र न्यायका लागि शान्तिपूर्ण प्रतिवाद, सङ्घर्ष गर्नुको विकल्प नभएको बताउनुभयो ।
आबधिक निर्वाचन लोकतन्त्रका लागि, लोकतान्त्रिक अभ्यासका लागि हुने गर्छन् तर यस पटकको निर्वाचन त्यसका लागि नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको तत्कालीन सरकार वैधानिक रुपमा ढाल्न नसकेपछि हत्या र हिंसाको बाटो अपनाएर असंवैधानिक रुपमा सरकार अपदस्थ गरिएको र त्यसपछिका असंवैधानिक कदमलाई बैधानिकता दिन निर्वाचन गरिएको बताउनुभयो ।
‘हाम्रा अगाडि धेरै चुनौती रहेका छन्, तिनको सामना गर्नुपर्ने छ’ उहाँले भन्नुभयो– हामी यतिबेला अलिकति पछाडि परेका छौं, सिद्धिएका छैनौं, हरेश नखाएर अगाडि बढ्नुपर्छ ।
अध्यक्ष ओलीले जनविद्रोहबाहेक प्रतिगमनलाई रोक्न कठिन रहेकाले एकताबद्ध प्रयास हुँदा प्रतिगमनलाई पराजित गर्नसकिने विश्वास व्यक्त गर्नुभयो ।
‘हामी फेरि जित्न सक्छौं’, अध्यक्ष ओलीले यतिबेला एकताबद्ध भएर अगाडि बढ्नुमात्रै पार्टीका लागि सही बाटो हो ।
सम्बोधनका क्रममा सरकारको पहिलो निर्णय नै हामीमाथि हमला गर्ने प्रतिशोधी र पूर्वाग्रही रहेको र अहिले पनि सरकारको हमला झेलिरहेको उहाँले जानकारी गराउनुभयो ।
अध्यक्ष ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट काठमाडौं आउने हबाई टिकट लिइसकेको अवस्थामा पनि दुःख दिने नियतका साथ सुर्खेतबाटै पक्राउ गरेर ल्याइएको उहाँले बताउनुभयो ।
उहाँले प्रतिक्रियावादी शक्तिसँग लड्ने बाहेक अर्को विकल्प नभएको बताउँदै हरेक कार्यकर्ता पार्टीका सिपाही बनेर पार्टीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका कुप्रचार र हमलाको डटेर विरोध÷प्रतिवाद गर्न आग्रह गर्नुभयो ।
सुझाव सङ्कलन कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।