detail-img

पार्टीका लागि सङ्घर्षबाहेक अर्को बाटो छैनः अध्यक्ष ओली

११ असार (२०८३ं), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला लोकतन्त्र अपहरित भएको, देश प्रतिगमनतर्फ गएको र देशको अस्तित्व खतरामा रहेको बताउनुभएको छ । 
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले  गत फागुन २१ मा गरिएको प्रतिनिधि सभाको निर्वाचन भदौ २३÷ २४ को घटना तथा त्यसपछिका अबैध र असंवैधानिक कामलाई वैधानिकता दिन रचिएको प्रपञ्च भएको बताउनुभयो । 
निर्वाचनमा गुणस्तरहीन मसीको प्रयोग र मतपेटिका मतगणनास्थलसम्म पुर्याउने काम शङ्काष्पद देखिएको उल्लेख गर्दै प्रमाणले पुष्टी नगरेसम्मका लागि निर्वाचन परिणाम स्वीकारिएको उहाँले स्पष्ट गर्नुभयो  । 
अध्यक्ष ओलीले भन्नुभयो– निर्वाचन हुँदैमा देशमा लोकतन्त्र छ भन्न सकिँदैन । लोकतन्त्र अपहरित भएको छ । 
‘हामीले धेरै ठाउँमा भारतको जमिन मिचेका छौं भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई कालापानी, लिपुलेक हाम्रो हो भन्ने कुराले खण्डित गर्दैन, तर प्रधानमन्त्री आफ्नो अघिल्लो अभिव्यक्ति सच्याउन तयार हुनुहुन्न,’ प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष ओलीले राष्ट्रियता र देशको अस्तित्व खतरामा रहेको बताउनुभयो । 
यो सरकारले आफ्नो पहिलो निर्णयबाटै विपक्षीमाथि दमन गर्ने नीति लिएको र विना आधार र कारण विपक्षी नेतालाई गिरफ्तार गर्ने, थुन्ने काम गरेको र यो क्रम अहिले पनि जारी रहेको भन्दै उहाँले सरकार फाँसीवादी, नाजिवादी शैलीमा अगाडि बढिरहेको भेलामा सहभागीहरूलाई जानकारी गराउनुभयो । 
सरकार प्रतिपक्षसँग पञ्चायतमा भन्दा निकृष्ट र घटिया ढङ्गले व्यवहार गरिरहेको बताउनुहुँदै अध्यक्ष ओलीले यस्तो प्रतिकूल परिस्थितिमा अब पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित गर्न भेलामा सहभागी पार्टीका नेताकार्यकर्ताहरूलाई आग्रह पनि गर्नुभयो । 
उहाँले वर्तमान सरकार जनताको सेवक होइन, शासक बन्न खोजिरहेको बताउनुभयो । 
नेपाल कम्युनिष्ट पार्टीले पनि २०७४ को निर्वाचनमा करिव दुईतिहाइ बहुमत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको स्मरण गर्दै अध्यक्ष ओलीले तर यस्तो आतङ्क नगरेको बताउनुभयो । 
नेकपा (एमाले) सरकारमा रहँदा केही गर्न नसकेर वा बेठीक काम गरेर अलोकप्रिय भएको होइन, राष्ट्रियताको पक्षमा अडान लिएको र कामले लोकप्रिय भएका कारण झुठा लाञ्छना लगाएर दुनियाँ खनिएको उहाँले बताउनुभयो । 
वर्तमान सरकार जर्मनीमा नाजी र इटालीमा मुसोलिनीले गरेजस्तो सिकेर देशमा द्वन्द्व निम्त्याउन खोजिरहेको तर हिटलर र मुसोलिनी आफ्ना कदमका कारण पतन भएको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो– दमन र अत्याचारविरुद्ध जनविष्फोट हुन्छ । उनीहरू पराजित हुन्छन् । 
आन्दोलनमा उतार चढाव दुबै हुने बताउँदै उहाँले हामीमाथि झुठा आरोप लगाई कृत्रिम ढङ्गले पराजित गरिए पनि एउटा निर्वाचनमा हार्दैमा सुदृढ संगठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताउनुभयो । 
अहिले पनि प्रतिनिधि सभामा २५ जना सांसद, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा एमालेको राम्रो उपस्थिति रहेको औल्याउँदै अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्दा फेरि जित्ने छौं भन्नुभयो । 
उहाँले पार्टी निर्माण र देशका निम्ति आफूले विगत ६१ बर्ष समर्पण गरेको र आन्दोलनमा शारिरीक यातना, कुटपिट सहेर पनि हरेश नखाएको स्मरण गर्दै अहिले निर्वाचनमा पराजय भोग्नुपरे पनि पार्टी सर्वनाश नभएकाले उच्च मनोबलले विजयमा पुर्याउने बताउनुभयो । 
सरकार अपदस्थ गर्ने र सत्ता कब्जा गर्ने षडयन्त्र अन्तर्गत भदौ २३ गते बच्चा हत्या र २४ गते आगजनी गरिएको बताउँदै उहाँले आफूमाथि बच्चा हत्याको झुठा आरोप लगाइएको स्पष्ट गर्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– अझै पनि झुठा आरोप लगाउन खोजिँदैछ, म ढल्न तयार हुन्छु, मारिन तयार हुन्छु तर शिर झुकाउन्न । 
उहाँले अहिले पार्टीमा एकता, एकता र समृद्ध एकताबाहेक अर्को विकल्प नरहेको र पार्टीका लागि सङ्घर्षबाहेक अर्को बाटो नरहेकाले एकताबद्ध प्रयासमा जुट्नु आवश्यक रहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा पार्टी केन्द्रबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, सचिव खगराज अधिकारी लगायत नेताहरू सहभागी हुनुहुन्छ ।