detail-img

धक्काबाट उठेर पार्टीलाई सफल बनाउन सङ्घर्ष मात्रै हाम्रो बाटो होः अध्यक्ष ओली

६ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश, आन्दोलन र पार्टीले गम्भीर धक्का खाएको वर्तमान अवस्थामा सङ्घर्षबाहेक अर्को उपाय नभएको बताउनुभएको छ । 
पार्टीद्वारा सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उहाँले भन्नुभयो– सङ्घर्ष मात्रै हाम्रो बाटो हो ।
अध्यक्ष ओलीले सबै परिस्थितिमा लडेर पार्टीलाई अगाडि बढाउने र सफलतामा पुर्याउनुपर्ने कर्तव्यबाट आफू किञ्चित विचलित नभएको र नहुने प्रष्ट पार्नुभयो ।    
प्रतिकूल परिस्थितिका विरुद्ध लड्नका लागि पार्टीभित्र अझ बढी भावनात्मक एकताको आवश्यकता रहेकोेमा उहाँले जोड दिनुभयो । ‘यतिबेला आन्दोलन अप्ठ्यारोमा परेको छ, पार्टीले धक्का खाएको छ, आन्दोलनले धक्का खाएको छ, देशमाथि गम्भीर षड्यन्त्र भइरहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो– हामी सजग ढङ्गले अगाडि बढ्न जरुरी छ, एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ । 
पार्टी र राष्ट्रको बृहत्तर हितमा कसरी अगाडि बढ्ने भन्ने अहिलेको प्रमुख विषय भएको उल्लेख गर्दै देशलाई सही ढङ्गले निकासमा पुर्याउन के कस्ता कदमहरू चाल्न पर्छ ती कामहरू आफूले गरी पनि रहेको उहाँले बताउनुभयो । 
उहाँले दुनियाँबाट कम्युनिष्ट समाप्त पार्यौं भनेका बेला पार्टीलाई दुईतिहाईको स्थितिमा पुर्याउने काम आफ्नो नेतृत्वमा भएको विगत स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– मैले भन्ने गरेको छु, राष्ट्रियताको प्रश्न, शान्तिको प्रश्न, लोकतन्त्रको प्रश्न, सुशासनको प्रश्न, विकासको प्रश्न यी प्रश्नहरूमा मेरो जिन्दगी जान सक्छ तर म शिर झुकाउन्न, म लत्रिन्न, म घुँडा टेक्दिनँ । 
‘साथीहरू ढुक्क भए हुन्छ, यो विषम परिस्थितिमा पार्टीलाई एकताबद्ध र जुझारु ढङ्गले अगाडि बढाउने मेरो प्रयास जारी रहने छ’, उहाँले भन्नुभयो ।  
‘हामी दुनियाँ बदल्छौं, नेपाल बदल्छौं भनेर हिंडेका हौं । फेरि पनि हाम्रो त्यो अभियान, त्यो उद्देश्य जारी छ । हामी सिद्धिएका होइनौं । हामी सिद्धिएका छैनौं । हामीले धक्का खाएका हौं । यो धक्काबाट हामी उठ्न नसक्ने होइन ।’ 
‘सुदूरपश्चिम दशरथ चन्द, भीमदत्त पन्त जस्ता नेताहरूको सङ्घर्षको इतिहास भएको सचेत ठाउँ हो । अन्यत्रभन्दा अगाडि सचेत भएको ठाउँ हो । त्यसै भएर यस ठाउँले फेरि पनि देशको आन्दोलनलाई अगाडि कसरी बढाउने भन्ने सन्दर्भमा र पार्टीलाई कसरी सुदृढ र एकजुट बनाउने भन्ने सन्दर्भमा त्यही हिसाबले विचार गरोस्’, अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।  
कार्यक्रममा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायत नेताहरूको उपस्थिति रहेको छ ।