५ असार (२०८३), काठमाडौं । नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (INSPIRE) को नवगठित निर्देशक कमिटी र अघिल्लो निर्देशक कमिटीका सदस्यहरूबीच आज परिचयात्मक तथा समीक्षात्मक छलफल सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको छलफल कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा प्रतिष्ठानले गरेका कार्यहरूको सराहना गर्नुभयो । अध्यक्ष ओलीले निवर्तमान निर्देशक समितिका अध्यक्ष ईश्वर पोखरेलसहित सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गर्दै नवगठित निर्देशक कमिटीलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
सो अवसरमा अघिल्लो कार्यकालमा सम्पादन भएका नीतिगत अनुसन्धान तथा संस्थागत कामहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । तत्कालीन निर्देशक कमिटीका सदस्यहरू क्रमशः प्रदीप ज्ञवाली, डा. युवराज खतिवडा, डा. विष्णु उप्रेती, डा. अञ्जान शाक्य र योगेन्द्र ढकालले आ–आफ्नो कार्यकालका अनुभव र उपलब्धिहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
संस्थाको आगामी कार्यदिशा र नीतिगत योजनाका विषयमा केन्द्रित सो छलफलमा नवगठित निर्देशक कमिटीका अध्यक्ष विष्णु रिमालसहित सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो । नयाँ कार्यसमितिमा डा. युवराज खतिवडा, डा. नेत्र तिम्सिना, डा. योगेन्द्र गुरुङ र सहायक रथी (अप्रा) विनोद पाण्डे रहनुभएको छ ।
दुबै कमिटीका पदाधिकारीहरू सम्मिलित सो बैठकले प्रतिष्ठानको कामलाई थप प्रभावकारी, अनुसन्धानमूलक र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।