एमाले आज

समसामयिक प्रस्ताव पारित गर्दै बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्यशाला सम्पन्न

सेयर गर्नुहोस्

७ भदौ (२०८३), नगरकोट (भक्तपुर) । नेकपा (एमाले) बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्रको दुई दिने कार्याशाला समसामयिक प्रस्ताव तथा नगरकोट घोषणा जारी गर्दै आज सम्पन्न भएको छ । 
कार्यशालाले देशको वर्तमान राजनीतिक परिस्थिति, जनजीविकाका गम्भीर समस्या, शान्ति–सुरक्षाको स्थिति, राष्ट्रिय स्वाधीनता तथा संगठन सुदृढीकरणका विविध पक्षहरूमा गहन छलफल गर्दै सर्वसम्मतिबाट देहाय बमोजिमका समसामयिक प्रस्तावहरू पारित गरेको छ । 
बजारमा खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुहरूको अस्वाभाविक अभाव र मूल्यवृद्धिले आम जनताको भान्सा महँगो र कष्टकर बनेको उल्लेख गर्दै कार्यशालाले तत्काल सहज आपूर्तिको ग्यारेन्टी गर्न  सरकारसँग माग गरेको छ । 
कार्यशालाले खेतीपातीको मुख्य सिजनमा देशभरका किसानहरूले रासायनिक मल नपाएर हाहाकार मच्चिरहँदा पनि सरकार मूकदर्शक बन्नु सरकारको गैरजिम्मेवारीपन भएको ठहर गर्दै गैरजिम्मेवारीपनको निन्दा गरेको छ । साथै, तत्काल पर्याप्त मलको व्यवस्था गर्न जोडदार माग गरेको छ । 
बारामा तीनवर्षीया बालिका गरिमा चौधरीको जबर्जस्ती करणी र निर्मम हत्याको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै कार्यशाला उक्त जघन्य अपराधको घोर भर्त्सना गरेको छ । कार्यशालाले दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र देशभरि महिला तथा बालबालिकाको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गरेको छ । 
कार्यशालाले प्रधानमन्त्रीद्वारा पूर्वजानकारी र स्पष्ट उद्देश्यविना गरिएको आकस्मिक मुस्ताङ भ्रमणले देशको भूराजनीतिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उब्जाएको ठहर गरेको छ । मुस्ताङ क्षेत्रमा रहेको बहुमूल्य खनिज युरेनियम बाह्य शक्तिलाई सुम्पिने प्रपञ्च भइरहेको भन्ने जनस्तरमा उठेका गम्भीर आशङ्काहरूप्रति ध्यानाकर्षण गराउँदै यो कार्यशाला सोध्छ— प्रधानमन्त्रीको भ्रमणको वास्तविक नियत के हो ? राष्ट्रिय हित र सार्वभौमिकताविपरीत कुनै पनि गोप्य सम्झौता वा चलखेल भइरहेको त छैन ? राष्ट्रिय हित प्रतिकूल हुने कुनै पनि कदमको कडा प्रतिवाद गर्दै चेतावनी दिन चाहन्छौ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत विपक्षी दलका शीर्ष नेताहरूलाई लक्षित गरी सरकारले गरिरहेको अनावश्यक राजनीतिक धरपकड, घेराबन्दी र पूर्वाग्रहपूर्ण कदमहरूको कार्यशालाले  भर्त्सना गरेको छ । 
न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता राज्यका स्वायत्त र महत्त्वपूर्ण संवैधानिक अङ्गहरूलाई राजनीतिक प्रभाव एवं हस्तक्षेपमार्फत निष्क्रिय पार्ने सरकारको असंवैधानिक कार्यको कार्यशालाले भर्त्सना गरेको छ । साथै, सरकारले गर्ने जुनसुकै जनविरोधी, असंवैधानिक र अराजक काम–कारबाहीको एमाले सम्बद्ध जनसंगठनहरूले डटेर प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 
कार्यशालाले आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनलाई मुख्य केन्द्रविन्दुमा राखी बाग्मती प्रदेशभर पार्टी र जनसंगठनहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन २३ वटै जनसंगठन संयन्त्रलाई पूर्णरूपमा सक्रिय र परिचालन गर्ने सङ्कल्प गरेको छ । 
कार्यशालाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्यशालामा सम्बोधन गरी दिनुभएको अत्यन्तै महत्त्वपूर्ण, वैचारिक तथा दूरदर्शी मार्गदर्शनलाई आगामी दिनमा संगठन निर्माण र राजनीतिक अभियानलाई मुख्य मन्त्रका रूपमा आत्मसात गर्ने दृढ सङ्कल्प गर्दै उहाँप्रति आभार व्यक्त गरेको छ । 
करिब १६० जना प्रतिनिधिहरूको सहभागितामा सम्पन्न यस कार्यशालामा नेताहरु प्रदीप ज्ञवाली, विशाल भट्टराई, ईश्वरी रिजाल, विषयविज्ञहरु रामशरण प्याकुरेल, वाईपी आचार्यले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणको निष्कर्षलाई आत्मसात् गर्दै प्रदेशका सम्पूर्ण १० जिल्लादेखि पालिका स्तरसम्म आवासीय कार्यशाला तथा प्रशिक्षण कार्यक्रमहरू विस्तार गर्ने निर्णय गरेको छ । 
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गर्नुभएको कार्यशालाको उद्घाटन सत्रमा पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको मन्तव्य व्यक्त गर्नुभएको थियो भने केन्द्रीय सदस्यद्वय माधव ढुंगेल र भोला पोखरेलको पनि अतिथिका रुपमा उपस्थिति रहेको थियो । 
आज सम्पन्न समापन सत्रमा पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज महेश बस्नेतले निर्देशनात्मक मन्तव्य राख्नुका साथै सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यशाला नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी उपसचिव एवं संयन्त्र प्रमुख रमेश आचार्यको अध्यक्षता तथा प्रदेश कमिटी सदस्यद्वय जय गुरुङ र मदन केसीको सञ्चालनमा सम्पन्न भएको थियो । 

 

 

 


 

हामीसँग जोडिनुहोस्