detail-img

राष्ट्रियता, सार्वभौमिकता र स्वाभिमानको रक्षा समर्पणबाट हुनसक्दैनः अध्यक्ष ओली

१५ माघ (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याइएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न पार्टीले उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताउनुभएको छ । 
प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दृढता व्यक्त गर्नुभएको हो । 
अध्यक्ष ओलीले भूकम्पले पुर्याएको भौतिक क्षति र त्यसको पुनर्निर्माणको काम उदाहरणीय रूपमा सफल पारेको स्मरण गर्दै यतिबेला भदौ २३ र २४ मा भएको ध्वंशले भौतिक संरचनाका साथै राष्ट्रियता, लोकतन्त्र र संविधानमा पनि क्षति पुर्याएकाले त्यसको समेत पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । 
विज्ञहरूबीच घोषणापत्रका प्राथमिकताका विभिन्न विषयहरूका सम्बन्धमा प्रकाश पार्दै अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी पार्टीले घोषणापत्रको तयारी गरिरहेको बताउनुभयो । 
नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका राज्य संयन्त्रहरूका गतिविधि र काम कारवाहीका विषयमा नजिकबाट नियालिरहेको जानकारी गराउँदै सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको अध्यक्ष ओलीले बताउनुभयो । 
अध्यक्ष ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने कुरामा जोड दिँदै यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो । साथै, अध्यक्ष ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिनुभयो । 
नेकपा (एमाले)ले व्यावहारिक र पाँचवर्षमा ठोसरूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको छ । 
कार्यक्रममा महासचिव शंकर पोखरेलले २०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले तयार गरेको घोषणापत्र र त्यसलाई यथार्थपरक बनाउन गरिएको प्रतिबद्धता लगायत विषय स्मरण गराउँदै विज्ञहरूलाई सुझाव उपलब्ध गराउन आग्रह गर्नुभयो ।