२८ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई बलियो बनाउन सबैभन्दा पहिला जनसंगठनलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासंघद्वारा आयोजित नेपाली कृषि क्रान्तिको कार्यदिशा विषयक राष्ट्रिय कार्यशालालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै निर्णायक शक्ति निर्माणका लागि यो कुरा आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
जनसंठनलाई आधार बनाएर संगठनको सदस्यता विस्तारको काम हुन नसकेका कारण पार्टीमा नयाँ मानिसको प्रवेश कम भएको महासचिव पोखरेलले बताउनुभयो ।
यतिबेला पार्टी विधान महाधिवेशनको तयारीमा जुटिरहेको र पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा कसरी जाने भन्ने विषयमा एक खालको दृष्टिकोण बनाएको उहाँले बताउनुभयो ।
विधान महाधिवेशनको तयारीका सिलसिलामा दुई कार्यकाल र ७० वर्षको उमेर हदको विषय केही चर्चामा आए पनि यी दुई विषयमा एकजना नेता बाहेक अरू कसैको असहमति नरहेको महासचिव पोखरेलले बताउनुभयो । ‘सबैको सहमतिमा हामीले निर्णय गरेका छौं, उहाँले भन्नुभयो ।
दुई कार्यकाल र ७० वर्षको उमेर हद हटाएर अघि बढ्नुपर्छ भन्ने विषयमा पार्टीमा सहमति बनेको र यी विषय कुनै व्यक्ति विषयसँग नजोडिएका महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पनि पार्टीले सोच विचार गरेरै निर्णय गरेको बताउँदै पार्टी, देश र व्यवस्थाको हितका लागि उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने निष्कर्षमा पार्टी पुगेको उहाँले सुनाउनुभयो । ‘राष्ट्रपति र उपराष्ट्रपति संसदीय व्यवस्थामा लोकतन्त्रका सिम्बोलहरू हुन्, त्यो तहका नेताहरू फेरि सक्रिय राजनीतिमा फर्कन हुँदैन भन्ने निष्कर्षमा पुग्यौं’, महासचिव पोखरेलले भन्नुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति अति मर्यादित पद भएकाले त्यहाँबाट रिटायर भएपछि पनि उहाँहरूलाई मर्यादामा नै राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैले एमालेले पूर्वराष्ट्रपतिको मर्यादा ख्याल गर्दै सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले नयाँ पुस्ता कृषि क्षेत्रमा जान नमान्नु आजको नेपालको प्रमुख समस्या भएको बताउनुभयो । देशमा रोजगारी सिर्जना हुन नसक्नुको मुख्य कारण पनि यही भएको उहाँको भनाइ छ । मुलुकको ठुलो जनसङ्ख्यालाई आज पनि रोजगारी दिने हैसियत राख्ने क्षेत्र कृषि क्षेत्र नै हो भन्ने कुरा बिर्सन नहुनेमा महासचिव पोखरेलले जोड दिनुभयो ।
नेपालमा कृषि व्यवसायको नेतृत्व गर्ने जनशक्ति तयार नै हुन नसकेको उहाँले बताउनुभयो । अहिलेका विश्वविद्यालयले व्यवसाय गर्ने जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै उहाँले विश्वविद्यालयको उत्पादन केवल जागिर खाने जनशक्तिमा सीमित रहेको धारणा राख्नुभयो ।