detail-img

महाधिवेशनमा आफैं सहभागी भएर पास गरेको दस्तावेजमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता होः महासचिव पोखरेल

-राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहीन र अराजक काम हो

-पार्टीको निर्णय विरुद्ध नबोली नेता होइँदैन भन्ने मानसिकता त्याग्न आग्रह

२६ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताउनुभएको छ । 
पार्टीको दोस्रो विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । 
भेलामा उहाँले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकाले यसको वैधानिक व्यवस्था जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा साङ्गठनिक अराजकता भएको स्पष्ट गर्नुभयो ।
‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा  राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुबै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिड्ने कुरा अनैतिक हो’ महासचिव पोखरेलले भन्नुभयो– राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहीन र अराजक काम हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ । 
पार्टी र सङ्गठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि नगर्न महासचिव पोखरेलले चेतावनी दिनुभएको छ । 
भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण  गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताउनुभयो । 
एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उहाँले बताउनुभयो । 
‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपङ्क्तिमा रहेका छन्’ महासचिव पोखरेलले भन्नुभयो– पश्चगामी सोच भएका राजावादी र कम्युनिष्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर काँग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।
उहाँले यी तीनै शक्ति एमालेलाई काँग्रेसबाट अलग्याएर आफूहरू सहितको सरकार बनाउन तल्लीन रहेको बताउनुभयो । 
महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा एकथरि नेता कार्यकर्ता पार्टीभित्र नै कित्ताकाट गर्ने काममा संलग्न भएको बताउनुभयो । ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरूरी छैन’ महासचिव पोखरेलले भेलालाई निर्देशन दिंदै भन्नुभयो– जतिबेला जे काम पर्छ त्यही गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस्  ।
महासचिव पोखरेलले जनसङ्गठनमा हालै भएका महाधिवेशनहरूका दस्तावेज केन्द्रीय कार्यालयमा साता दिनभित्र पठाउन निर्देशन दिनुभयो । ‘जनसङ्गठनका दस्तावेज र पार्टीले तयार गरेको दस्तावेजमा कति भिन्नता छ भन्ने कुरा हामी तुलना गछौं’ महासचिव पोखरेलले भन्नुभयो– सबै जनसङ्गठनले जनतासँग जोडिने नीति र दस्तावेज बनाएर कार्यान्वयन गर्नुहोस् ।
पार्टी स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषयवस्तु चितवन महाधिवेशनले संशोधन गरेको  स्मरण गराउँदै पार्टीको निर्णय विरुद्ध नबोली नेता होइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । 
‘पार्टीका नीति, विधि माथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस्’ नेता ढकालले केही जनसङ्गठनका पदाधिकारीलाई लक्षित गर्दै भन्नुभयो ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही जनसङ्गठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।
आजको विस्तारित भेलामा पार्टीको स्थायी कमिटीका सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठनको इन्चार्जको जिम्मेवारीमा रहनुभएका पार्टीका स्थायी कमिटी सदस्यहरू राजेन्द्र गौतम, सीता पौडेल, थममाया थापा लगायतको उपस्थिति रहेको थियो । भेलालाई जनसङ्गठन समन्वय संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गर्नुभएको थियो भने केन्द्रीय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले स्वागत गर्नुभएको थियो । भेलामा सबै जनसङ्गठनका अध्यक्ष र पदाधिकारीहरूले आफ्ना सङ्गठनका गतिविधि जानकारी गराउनु भएको थियो ।
विधान महाधिवेशन, त्यस अघि आगामी साउन ५ गते बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका क्रममा पार्टीले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँग बैठक गरिरहेको छ । 
यस सन्दर्भमा हिजो (बुधबार) नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले आवश्यक निर्देशन दिनुभएको थियो । यस अघि भूगोलका सातै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष र पदाधिरीहरू, प्रवास कमिटीसँग छुट्टाछुट्टै भर्चुअल बैठक सम्पन्न भएका छन् ।  

उपत्यका विशेष प्रदेश कमिटीको बैठक

]