१ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) संविधान दिवस देशभर भव्यरुपमा मनाउने भएको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने निर्णय गर्दै त्यसका लागि तयारी थालेको छ ।
बैठकले नेपालको संविधान २०७२ को रक्षा र कार्यान्वयनको सन्देशसहित देशव्यापीरुपमा विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सो अनुसार पार्टीले परिपत्र पठाई मातहतका प्रदेश, जिल्ला र पालिका तहका कमिटीलाई विविध र रचनात्मक कार्यक्रम गर्न निर्देश गरेको छ ।
बैठकले असोज ३ गते बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकले सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई स्थानीय विशेषता र आवश्यकताअनुसार प्रभावकारी तथा रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, विद्यार्थी संगठन, ट्रेड युनियनलगायत पार्टीसम्बद्ध जनसंगठनहरूले पनि आफ्ना मौलिक नारासहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । संविधानको रक्षा, संवैधानिक व्यवस्थाको सुदृढीकरण तथा संविधानप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले दिवसलाई व्यापक रूपमा मनाउने तयारी पार्टीले गरेको हो ।
संविधान दिवस देशभर भव्यरूपमा मनाउने एमालेको तयारी
सेयर गर्नुहोस्
