एमाले आज

जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छः महासचिव पोखरेल

सेयर गर्नुहोस्

-सरकारले अघि सार्ने पुनर्स्थापना तथा पुनःनिर्माणको काममा नेकपा (एमाले) सहयोगी हुने
२० भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताउनुभएको छ ।  
नेकपा (एमाले) सम्पर्क विशेष संगठन कमिटीले आज तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले औद्योगिक राष्ट्रहरुले सिर्जना गरेको समस्याका कारण हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने माग गर्नुभयो ।
‘विकसित देशहरुले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्वन उत्सर्जन गरे, त्यसको मार हामीजस्ता विकासशील देशहरुले भोग्नुपरेको छ,’ महासचिव पोखरेलले भन्नुभयो–हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरुले तिनुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ । 
नेकपा (एमाले) पीडितको राहत ,उद्धार र पुनर्स्थापनका लागि अहोरात्र खटिरहेको उहाँले बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीब्र पारिएको महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– हाम्रा पार्टीका नेता तथा जनसंगठनहरु बाढी लगत्तै उद्धार तथा राहतमा अहोरात्र खटेका छन्, राहत सामग्री पीडितलाई पुर्याउने काम पनि हामीले गरिरहेका छौं ।
सरकारले अघि सार्ने पुनर्स्थापना तथा पुनःनिर्माणको काममा नेकपा (एमाले) सहयोगी हुने प्रष्ट पार्दै महासचिव पोखरेलले भन्नुभयो–एमालेमा विगतका विपत्तिमा पनि उद्धार, राहत, पुनर्स्थापना र पुनःनिर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरु हुनुहुन्छ, त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्छौं । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।

हामीसँग जोडिनुहोस्