detail-img

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय महिला भेला उद्घाटन 

१६जेठ (२०८१), काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित राष्ट्रिय महिला भेलाको भव्य समारोहबीच उद्घाटन गर्नुभयो । 
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले महिलाले राष्ट्र र समाजका सबै एजेण्डामा नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभयो । 
महिलाले महिलाका मात्र कुरा नगरी गम्भीरतापूर्वक राष्ट्रिय एजेण्डामा नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । 
महिलाहरू सामाजिक परिवर्तनका साथै आर्थिक समृद्धि र विकासका क्षेत्रमा पनि क्रियाशील हुनुपर्ने चर्चा गर्दै पूर्व राष्ट्रपति भण्डारीले आर्थिक सुधारका लागि उत्पादन र उत्पादकत्व बृद्धि गरी स्वावलम्बी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । 
उहाँले २०६३ साल जेठ १६ गते प्रतिनिधि सभाबाट पारित महिला अधिकारसम्बन्धी चारबुँदे सङ्कल्प प्रस्तावका विषयहरू संविधानमा संस्थागत भएबाट जनप्रतिनिधिमूलक संरचनामा एकतिहाइ महिला सुनिश्चित भए पनि यो पूर्ण उपलब्धि होइन भन्नुहुँदै थप उपलब्धिका लागि प्रयास जारी राख्नुपर्ने बताउनुभयो । 
उहाँले महिला हिंसाको मूल कारण पुरुष नभई हिंसामा आधारित सामाजिक व्यवस्था भएको बताउनुभयो । 
पूर्व राष्ट्रपति भण्डारीले महिला आधा आकाश नभई सम्पूर्ण आकाश भएको र आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो भन्ने कुरामा ध्यान जानुपर्ने बताउनुभयो । 
उहाँले ग्रामीण महिला तथा जनस्वास्थ्यमा अहिले पनि गम्भीर समस्या रहेको, अथाह प्राकृतिक स्रोत हुँदाहुँदै पनि खानेपानीको समस्याबाट जनता पीडित हुनुपरेको, जलवायु परिवर्तन, बायु प्रदूषणको असर जनस्वास्थ्यमा देखिएको चर्चा गर्दै यी विषयहरू एजेण्डा बनाउन सुझाउनुभयो । 
पूर्वराष्ट्रपति भण्डारीले कृषि प्रधान देशमा बर्सेनि चार खर्ब रुपियाँको कृषि तथा बनजन्य उत्पादन आयात हुने गरेको, रोजगारीका लागि युवाहरू विदेश जाने गरेको चर्चा गर्दै हरेक देशका लागि आफ्नो राष्ट्रियता प्रमुख हुने हुँदा कुनै दिन हाम्रा युवाले विदेशमा रोजगारी नपाउने अवस्था आउन सक्छ भन्ने कुरामा सचेत भएर दिगो पारिस्थितिकीय विकासमा जोड दिनुपर्ने बताउनुभयो । 
उहाँले नेकपा (एमले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुभएको समयमा अगाडि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने दिशामा अगाडि बढ्न शुभकामना दिनुभयो । 
पूर्व राष्ट्रपति भण्डारीले जनसंगठनहरू पार्टीका आधारस्तम्भ भएकाले सुदृढ संगठन निर्माण्मा थप परिचालित हुन सुझाव दिनुभयो । 
भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधिको सहभागिता रहेको छ ।