detail-img

प्रधानमन्त्री र मन्त्रालय अहिले हाम्रो प्राथमिकता होइनः महासचिव पोखरेल

१५ जेठ (२०८१), सुनसरी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दै हिडेको बताउनुभएको छ । 
नेकपा (एमाले) सुनसरीको आठौ जिल्ला अधिबेशनबाट नवनिर्वाचित कमिटीको सपथ ग्रहण कार्यक्रमलाई आज सम्वोधन गर्दै महासचिव पोखरेलले उक्त प्रस्तावको खुलासा गर्नुभयो । 
एमालेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दै हिडेको भए पनि अहिलेको सत्ता समीकरणले मिसन–२०८४ सम्मै निरन्तरता पाउने उहाँले स्पष्ट गर्नुभयो ।   
वर्तमान सत्ता समीकरणमा नेकपा (एमाले) प्रमुख र ठूलो दल रहे पनि सरकारमा एमालेले मन्त्रालयहरू रोज्ने काम नगरेको सन्दर्भ जोड्दै कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव अगाडि सार्ने गरेको बताउँदै महासचिव पोखरेलले एमालेका लागि प्रधानमन्त्री र मन्त्रालय प्राथमिकताको बिषय नभएको प्रष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– त्यति थोरै मन्त्रालय लिनुभन्दा त बरु  प्रधानमन्त्री नै लिनोस् न भन्दै काँग्रेस अफर गर्दै हिडेको छ तर  एमालेको मिसन मन्त्रालय र प्रधानमन्त्री नभई मिसन–२०८४ हो  ।
उहाँले मिसन–२०८४ पूरा गर्न  पार्टीविरुद्धको घेराबन्दी तोडेर नयाँ समीकरण बनाएको बताउनुभयो । देश बनाउन एमालेलाई निर्णायक बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेमा उहाँको जोड छ ।
नेपालको राजनीतिक परिवर्तन एमालेको नीतिका कारण भएकाले परिवर्तनको नेतृत्व गर्न एमालेलाई निर्णायक बलियो शक्ति बनाउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । एमालेसँग मात्रै देश बनाउने नीति र दुरदर्शी नेतृत्व रहेको उहाँको भनाइ छ ।  भविश्यको बाटो के हो भन्ने इलामको उपचुनावले देखाएको उहाँले बताउनुभयो । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं सुनसरी इन्चार्ज शेरधन राईले नीति र बिधिलाई स्थापित गर्दै गतिलो पार्टी बनाउन नव निर्वाचित कमिटी लागिपर्नुपर्नेमा जोड दिनुभयो । 
सपथ ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य जगदिश कुसियत, लक्ष्मी गौतम, पार्टीका कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ, एमाले सुनसरी जिल्लाका निवर्तमान अध्यक्ष रेवतीरमण भण्डारीले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।  जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष निलम खनालले प्रतिबद्धता मन्तब्य राख्नुभएको थियो ।