detail-img

राष्ट्र बलियो हुँदा मात्र नागरिक सुरक्षित हुन्छन्ः महासचिव पोखरेल

१५ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुने बताउनुभएको छ । 
पेसागत महासंघ नेपाल राष्ट्रिय समितिले सोमबार  काठमाडौंमा आयोजना गरेको  अन्तर्क्रियामा महासचिव पोखरेलले समाजमा देखिएको समस्या समाधान गर्न राज्य बलियो हुनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– कमजोर राज्यले जनतालाई कहिल्यै पनि सुख, समृद्धि दिन सक्दैन, त्यस कारण नेपाली समाजको आजको समस्या हल गर्ने हो भने राज्यलाई बलियो बनाउनुपर्छ । 

अहिले नेपाली समाजमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढाउने काम भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपालमा ज्ञानको दुरुपयोग गरेर समाजमा द्वन्द्व बढाउने काम गरिएको उहाँले स्पष्ट पार्नुभयो । अहिले राज्यप्रति नागरिकको विश्वास, भरोसा र भय नभएको र यो नै आजको प्रमुख चुनौती भएको महासचिव पोखरेलले बताउनुभयो । 
नेपालको राजनीतिमा वैकल्पिक राजनीतिक शक्ति उदय भएको भ्रम फिँजाएर राजनीतिक अस्थिरता र सामाजिक अराजकता मच्चाउने काम भएको महासचिव पोखरेलले बताउनुभयो । विकल्पको खोजीको नाममा नेपालको विकास र राजनीतिक स्थायित्वको यात्रालाई पछि धकेल्ने काम गरेको उहाँले प्रष्ट पार्नुभयो । मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामर्थ्य भएको नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हो भन्ने कुरा उहाँले सरकारको नेतृत्व गर्दा भएका कामबाट पुष्टि भएको महासचिव पोखरेलले बताउनुभयो । 
अहिले आफ्नो माग राख्न अफिस अगाडि धुलो फाल्ने काठमाडौंका मेयरलाई आइडल मान्न लागिएको उहाँको भनाइ छ । काठमाडौंका मेयर बालेन्द्र  साहले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर फोहोर गर्दै हिँडेको उहाँले बताउनुभयो । समाज यस्ताको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौँ भनेर भन्दा काठमाडौंको मेयरलाई !, जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालय अगाडि लगेर धुलो फ्याँक्छ !
जान्नेलाई छान्ने भन्ने मिठा मिठा नारा लगाउनेको पछाडि सामाजिक सञ्जाल दौडिएको उहाँले बताउनुभयो । यस्ता मिठो कुराले देश सफलताको बाटोमा अघि नबढ्ने बताउँदै महासचिव पोखरेलको राजनीतिक नेतृत्वको सफलता नै सबै चिजको आधार हो भन्ने कुरामा स्पष्ट हुनुपर्ने भनाइ राख्नुभयो ।