detail-img

भूकम्प पीडितलाई भेट्न अध्यक्ष ओली जाजरकोट जानुहुँदै 

जाजरकोट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज जाजरकोट आउनुहुने भएको छ । 
गत कात्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावितहरूलाई भेट्न र उनीहरूका समस्या, दुःखपीडा बुझ्न अध्यक्ष ओली जाजरकोट आउन लाग्नुभएको हो । 
अध्यक्ष ओली आउने भएपछि स्वागतका लागि एमालेका नेता कार्यकर्ता छेडाबजारमा केन्द्रीय हुनुभएको छ । 
सुर्खेत र जाजरकोटको सिमानामा पर्ने छेडाबजारमा अध्यक्ष ओली र समृद्धिका लागि सङ्कल्प अभियानमा सहभागी नेताहरूको स्वागतका लागि स्वागतद्वार तयार गरिएको जिल्ला कमिटी अध्यक्ष खिमबहादुर शाहीले बताउनुभयो ।  
पार्टीले यही मंसिर १४ गतेदेखि शुरू गरेको झुलाघाट– चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा आज जाजरकोट पुगेर अध्यक्ष ओलीले भूकम्प पीडितहरूसँग अन्तर्क्रिया गर्ने पार्टीका केन्द्रीय सदस्य निरज आचार्यले बताउनुभयो । अध्यक्ष ओलीले दिउँसो २ बजे भेरी नगरपालिका–१ रिम्नामा भूकम्प पीडितहरुसँग भेट्नुका साथै पार्टीले भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउने लगायत सहयोगका लागि खटाएका स्वयंसेवकहरूले गरेको कामको बारेमा जानकारी लिनुहुने छ । 
पूर्व प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत हालसम्म भएको राहत वितरण, पुनस्र्थापना र पुनर्निर्माणका विषयमा जानकारी लिनुहुने केन्द्रीय सदस्य आचार्यले बताउनुभयो । एमालेले मङ्सिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ ।