detail-img

देशमा मनपरितन्त्र चलिरहेको छः अध्यक्ष ओली 

सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  देशमा मनपरितन्त्र चलिरहेको बताउनुभएको छ । 
बैतडीको झुलाघाटबाट पुष्पलाल मध्यपहाडि लोकमार्ग हुँदै २०८० मङ्सिर १८ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर (सुर्खेत) पुग्नुभएका अध्यक्ष ओलीले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता, देशको स्वतन्त्रता कमजोर भएको र सीमा रक्षामा पनि चुकेको बताउनुभयोे । 
देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजददरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारीलाई तनखा ख्वाउनुुपर्ने, ऋण काडेर देश चलाउनुपर्ने नाजुक अवस्थामा अर्थतन्त्र पुगेको यथार्थ प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो– देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ । देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।


देश सबैले चिन्ता गर्नुपर्ने अवस्थामा
यो अवस्थाको हामीलाई मात्रै नभएर सबै राजनीतिक दल, जनताका लागि पनि चिन्ताको विषय हो तर सरकारमा सहभागी दल कानमा तेल हालेर बसेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले सत्ताठबन्धन दलहरूले देशमा विभाजन र बिखण्डनको बीउ रोपेको बताउनुभयो । अध्यक्ष ओलीले देशको स्वाभिमान, देशको अस्तित्व रक्षा र समृद्धिका लागि, भ्रष्टाचार र घुसखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । 
‘दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरू छन् । भू–परिवेष्टित देशहरू छन्, उजाड भूगोल भएका देशहरू छन् तर विकास र समृद्धिका हिसाबले निकै फड्को मार्दै गएका छन्,’ उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले  सम्बोधनका क्रममा भन्नुभयो– अहिले हाम्रा कृषिका उर्भर भूमिहरू उजाड हुँदै गएका छन् । पहाडको स्थिति के कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरू, पुलपुलेसा, कृषिको आधुनिकीकरण, हामीले अघि बढाएका विकासका काम कस्ता रहेछन् ? भन्ने स्थलगत अनुगमन र नयाँ कामका सम्भावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान शुरू गरको हौं ।  
वर्षले दल पुरानो हुन्न 
देशमा नयाँ र पुराना दलको भाष्य निर्माण गर्ने प्रयास भइरहेको सन्दर्भमा धारणा राख्नुहुँदै अध्यक्ष ओलीले राजनीतिक दल गठन भएको कति वर्ष भयो भन्ने आधारमा राजनीतिक दल पुरानो नहुने बताउनुभयो ।  अध्यक्ष ओलीले कुनै पनि राजनीतिक दललाई त्यसको नीति, विचार र कार्यक्रमका आधारमा नयाँ र पुरानो भन्न सकिने धारणा राख्नुभयो ।  
उहाँले भन्नुभयो– कुनै पनि राजनीतिक दल वर्षले पुरानो हुने होइन्, नीति र विचारले पुरानो हुने हो । कांग्रेस पुरानो भयो । अहिलेको सरकार पुरानो भयो । कुनै नीति, कार्यक्रम, देश बनाउने दृष्टिकोण र उद्देश्यबिहीन भएकाले यो सरकार एक वर्षमै धेरै पुरानो भैसक्यो । 
हामी(एमाले)सँग देशको रूपान्तरण गर्ने, नीति, उद्देश्य, कार्यक्रम, अभियान नयाँ रहेको र एमाले गतिशील पार्टी भएको बताउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– एमालेलाई पुरानो भयो भन्ने को हो ? एमाले पुरानो दल होइन बरु एमालेलाई देख्ने नजर पुरानो हो ।
सन्देश सभामा अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य, पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिव लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई,  छविलाल विश्वकर्मा, रघुवीर महासेठ,पद्मा अर्याल  लगायत नेताहरूको उपस्थिति रहेको थियो ।  
कार्यक्रम लगत्तै अध्यक्ष ओलीसहितको अभियान टोलीले पुरातात्विक महत्व बोकेको कांक्रेबिहारको अवलोकन गरेको थियो । 

पेट्रोलियम अन्वेषणको विकल्प छैन
अध्यक्ष ओलीले समृद्ध नेपालको दीर्घकालिन  लक्ष्य प्राप्त गर्न तथा कर्णालीको समृद्धिका लागि दैलेखमा रहेकोे पेट्रोलियम अन्वेषणको तथा उत्खनन्को विकल्प नभएको बताउनुभयो ।  
 ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा सोमबार (२०८० मङ्सिर १८ गते) कर्णाली प्रदेशको दैलेख जिल्लामा पुग्नुभएका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन् गरी सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 
बिहान दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा  पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालामा भएको स्मरण गर्दै  उक्त कामलाई थप अघि बढाउनुपर्ने बताउनुभयो ।
‘दैलेख पुरातात्विक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले थप्नुभयो– हाम्रै (एमाले नेतृत्वको सरकार) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।
अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा जानकारी लिनुभएपछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन पेट्रोलियम पदार्थको उत्खनन्ले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । 
दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा अध्यक्ष ओली नेतृत्वको शीर्ष नेताहरूलाई जानकारी दिँदै खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताउनुभयो ।
उत्खनन् गर्दा पहिलो तेल ३५ सयदेखि चारहजार मिटरसम्म देखिएको छ । उत्खनन् टोलीको प्रतिवेदनका अनुसार उत्खनन् गर्दा दोस्रो तहमा ग्यासका रेखाहरू देखिएको नापितले जानकारी गराउनुभयो ।
नापितले भन्नुभयो– हामीले ४५ सय मिटरसम्मको उत्खनन् गर्दा ग्यास र पेट्रोलियम पदार्थको सम्भावना यहाँ (दैलेख) निकै राम्रो देखियो ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका नेताहरूसँगै उत्खनन् स्थलमा पुग्नुभएका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितले अध्ययन प्रतिवेदन हस्तारण गर्नुभएको थियो । 
देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खनन्को अन्तिम अन्वेषणको कामका लागि नेकपा (एमाले) अध्यक्ष ओली प्रधानमन्त्री भएको समयमा उत्खनन् स्थलमा आवश्यकपर्ने ४५ रोपनी जग्गा अधिग्रहण गर्ने काम सम्पन्न गरी अन्वेषणको काम शुरू भएको थियो । 
दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्यासको भण्डारण रहेको  विभिन्न अध्ययन र अनुमानका आधारमा २०७६ असोजदेखि अन्वेषणको काम शुरू गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा आवश्यक विभिन्न सर्भे सम्पन्न गरिएको थियो । 
यसैगरी, ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ उद्घोषका साथ शुरू भएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको पाँचौँ दिन सोमबार अध्यक्ष ओली लगायतका नेताहरूले दशकौंदेखि ज्वाला बलिरहेको दैलेखको शिरस्थान मन्दिरको अवलोकन र दर्शन गर्नुभयो ।

अध्यक्ष ओलीले दैलेखको गुराँस गाउँपालिकाको प्रशासनिक भवन अध्यक्ष ओलीले गुराँस गाउँपालिकाको नवनिर्मित प्रशासकीक भवनको उद्घाटन गर्नुभएको छ । 
त्यहाँ कर्णाली प्रदेशका सरकारी कार्यालयमा राखिएको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै पूर्वप्रधानमन्त्री ओलीले गुराँसका स्थानीय नागरिकले गरेको स्वागत ग्रहण गर्नुभयो ।  
अध्यक्ष ओलीसँग राउटेहरूको भेट 
यस अघि दैलेखको गुराँसमा लोपोन्मुख राउटे जातीका मुखिया सूर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोशी उपहार दिनुभयो । गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले अध्यक्ष ओलीलाई कोसी(काठको भाँडा) उपहार दिनुभयो ।

 
उपहार ग्रहण पश्चात अध्यक्ष ओलीले नेकपा (एमाले)ले राउटे समुदायको अस्तित्व बचाउँदै उनीहरू जीविकोपार्जन सहज बनाउन, शिक्षा, स्वास्थ्यमा सहज पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । 
स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्खौली पेशा नै सङ्कटमा परेका कारण बाँच्न समस्या भएको भन्दै अध्यक्ष ओलीसँग राउटे मुखिया शाहीले सहयोग गर्नु अनुरोध गर्नुभयो । 

दैलेखको विकासका लागि एमाले सधै तत्पर छ
यसैगरी, दैलेखको खलङ्गामा आयोजना गरिएको सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले दैलेखको समग्र विकास र समृद्धिको लागि पार्टीले नेतृत्व लिने बताउनुभयो । 
अध्यक्ष ओलीले धार्मिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको दैलेखको विकासको लागि आफू र आफ्नो पार्टीले नेतृत्व लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
दैलेखमा पेट्रोलियम अन्वेषणका लागि नेतृत्व लिएको एमालेले अपुरो रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गलाई पुरा गर्ने, दुल्लुलाई स्मार्ट सिटी बनाउने, छोटो बाटोमा तिब्बत जोड्ने योजनादेखि कृषिको आधुनिकीकरणको कामको नेतृत्व एमालेले गर्छ भन्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले दैलेख जिल्लाको समग्र विकासको सम्भावनाका बारेमा आफूले जिल्लाका राजनीतिक दलहरूसँग छलफल गरेका जानकारी गराउनुभयो ।


मध्यपहाडी क्षेत्रको अवस्था बुझ्न सङ्कल्प यात्रा
उहाँले भन्नुभयो– यहाँको विकास र समृद्धिको सपना साकार पार्न हामीले कार्यान्वयनको नेतृत्व लिन्छौं । 
बालबालिका, शिक्षा, स्वास्थ्यका सन्दर्भमा एमालेले थुप्रै काम गरेको बताउँदै अध्यक्ष ओलीले आगामी दिनमा युवाहरू विदेश जाने र यहाँको जनजीवन पछि पर्ने परिस्थितिको अन्त्य कसरी  गर्न सकिन्छ ? पहाडी क्षेत्रको अवस्थामा कसरी सुधार गर्न सकिन्छ भनेर एमालेले सङ्कल्प यात्रा शुरू गरेको स्पष्ट गर्नुभयो ।  
अध्यक्ष ओलीले थप्नुभयो– दुनियाँ धेरै अघि बढिसकेको तर नेपाल गरिब अवस्थामा रहेको हुँदा यसलाई परिवर्तन गर्न, यहाँहरू(स्थानीयबासी)को समाधानका उपाय सुन्नका लागि, समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालिन लक्ष्यलाई साकार पार्न यस अभियानमा स्थानीयको विचार र राय लिइरहेका छौं । विभिन्न मागपत्रहरू लिइरहेका छौं । 
परापूर्व कालमा सिंजा सभ्यताको ग्रीष्मकालिन राजधानी थियो भन्ने कुरा शिलालेख र ग्रन्थहरूमा पनि उल्लेख भएको पाइन्छ भन्नुहुँदै उहाँले पुरानो राज्य बनाउने र बचाउने काममा दैलेखका जनताको गौरवपूर्ण इतिहास रहेकोे बताउनुभयो । 
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे,  महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

नेकपा एसका छजना स्थानीय नेता एमालेमा 
यसैबीच नेकपा एकीकृत समाजवादी छजना स्थानीय नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 
नेकपा एसका दैलेख जिल्ला कमिटी सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द, नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी,  नौमुले–४ का वडा कमिटीका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गर्नुभएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरू मध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको राजबहादुर ठेसामगरले बताउनुभयो ।  
नेकपा एसका जिल्ला कमिटी सदस्य गंगाराम थापाले भन्नुभयो– एमाले र केपी ओलीलाई कमजोर बनाउन हामीलाई अनेक भ्रम फैलाए पनि अब कसैले सक्दैनन् ।