detail-img

प्रतिगमन सोच्ने देशद्रोही हुन्ः अध्यक्ष ओली 

दैलेख (राकम) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताउनुभएको छ । 
नेकपा (एमाले)ले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ को चौथो दिन आज (२०८० मङ्सिर १७ गते) कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित विशाल सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । 
लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्व जनताको हित नचाहने देशद्रोही भएको उहाँको भनाइ छ ।  
‘वर्तमान गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशालाई मौकाको रूपमा लिएर प्रतिगमनको दिवास्वप्न देख्नु देशद्रोह बाहेक केही होइन’ अध्यक्ष ओलीले भन्नुभयो– प्रतिगमनको कुरा गर्नु विकास बिरोधी, परिवर्तन बिरोधी, नेपाल र नेपालीको हित बिपरीत वाहेक केही होइन ।


सुदूरपश्चिमको तीनदिनको भ्रमण र जनतासँगको भेटका क्रममा जनतामा निराशा पाएको अनुभव सुनाउँदै अध्यक्ष ओलीले सत्ता टिकाउन भैरहेको अनियमितता, कमिशन र तस्करीका कारण जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा पैदा हुँदै गएको हुँदा आशा र भरोसा जगाउने काम गर्नुपर्ने बताउनुभयो । 
नेपाललाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने बताउनु भएका अध्यक्ष ओलीले एमालेले दुर्गम ठाउँहरूको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशा व्यवसायहरूको सम्वद्र्धन गर्ने, कृषिको आधुनिकीकरण, देशलाई औद्योगिकरणतर्फ लग्ने, व्यापार सन्तुलन कायम गर्ने नीति लिएको चर्चा गर्दै नेपालका सारा जनतालाई शिक्षित बनाउने र  निरोगी नेपालको परिकल्पना एमाले र यसको नेतृत्वले गरेको बताउनुभयो । 
अध्यक्ष ओलीले आमसभाका सहभागीहरूलाई आफूहरूको यस यात्राका बारेमा जानकारी गराउँदै भन्नुभयो– सुदूरपश्चिमको तीन दिनको यात्राका क्रममा त्यहाँका वुद्धिजीवी, चिकित्सक, शिक्षक, स्वास्थ्यकर्मी, किसान, सामाजिक अभियन्ताहरूसँग त्यहाँको विकासका सम्बन्धमा गहिरो बुझाई हासिल गरेका छौं । हामीले मध्यपहाडी क्षेत्रको समृद्धि र विकासका लागि प्रत्यक्ष रूपमा जनतासँग जिल्लामै भेटौँ, पार्टीको सन्देश फैलाउन सकौँ, विकासका बारेमा छलफल गराँै भनेर यो अभियान शुरू गरेका हौँ । 
तीन दिन कर्णालीका विभिन्न जिल्लामा बसाईका क्रममा पनि कर्णाली विकासको गहिरो अध्ययन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । 
एमालेको सरकारका पालामा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अगाडि सार्दा सामरिक महत्वको राकम कर्णालीमा अस्पताल बनाउने कामको शुरुवात आफैले गरेको अध्यक्ष ओलीले स्पष्ट गर्नुुभयो । 
उहाँले भन्नुभयो– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शाखाको रूपमा बिस्तारित अस्पताल निर्माण गर्ने हाम्रो योजना अनुसार यहाँका (राकम कर्णाली)का जनताले निःशुल्क रूपमा ४२ रोपनी जग्गा दान गर्नुभएको छ । धनी भएर भन्दापनि दान गर्ने मन भएर जग्गा उपलब्ध गराउनु भएकामा म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु । राकम कर्णालीमा एक सय शैयाको अस्पताल खोल्ने हाम्रो सपना साकार पार्ने काममा यहाँहरूले ठूलो सहयोग गर्नुभयो, बिडम्बना अहिलेको सत्ता गठबन्धनले उक्त कामलाई रोक्यो । राकम कर्णालीलाई स्मार्ट सिटीका रूपमा निर्माण गर्ने कार्यक्रम राखेका थियौँ, काम शुरू गर्न खोज्दै गर्दा हामी सरकारबाट हट्यौँ ।
पहिले राकम कर्णाली निकै उपेक्षित रहेको र मध्यपहाडी लोकमार्ग र कर्णाली राजमार्गका कारण सुगम बन्न पुगेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
उहाँले एमालेको सरकारले स्मार्ट सिटी बनाउने घोषणा गरेपछि यसको महत्व थप बढेको बताउनुभयो । 
आफ्नो नेतृत्वको सरकारले विश्वलाई चकित पार्ने गरेर विकास र समृद्धिको यात्रा अगाडि बढाइरहेको अबस्थामा षडयन्त्रपूर्वक सरकारबाट हटाइको स्पष्ट गर्दै अध्यक्ष ओलीले त्यसको लगत्तै देशमा राजनीतिक रूपमा अस्थिरता निम्तिएको बताउनुभयो । 
आफूले सरकारको नेतृत्व लिएको बेला बेरोजगार, विभेदको अन्त्य भएको भनाइ उहाँले राख्नुभयो ।  
सरकारको व्यवहार जाँच्न पदयात्रा
सरकारमा रहेको समयमा विभिन्न क्षेत्रमा सुधारको नेतृत्व लिएको एमालेले अहिले सत्ताको तर्फबाट जनतासँग  लोकतान्त्रिक व्यवहार भएको छ, छैन भन्ने बुझ्न पनि  गाउँमा आएको अध्यक्ष ओलीले बताउनुभयो । सर्वसाधारण जनता, शिक्षक, विद्यार्थी, सेना, प्रहरी, सशस्त्र प्रहरीका समस्या, विद्यालयका, कृषकका समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीतिक महत्वका हिसाबले पनि आफू यो अभियानमा आएको उहाँले स्पष्ट गर्नुभयो । 
उहाँले आगामी २०८४ मा एमाले नेतृत्वमा एकल बहुमतको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– सरकारमा एमालेको नेतृत्व नहुँदा नेपालको भूमि मिचिने डर छ, सुशासन होइन कुशासन बढेर जाने छ । अत्याचार बढेको छ । यी सबैलाई रोक्नका लागि एमालेको बहुमतको सरकार चाहिन्छ । हामीलाई विभाजित गर्न अनेक तत्वले भ्रम फैलाउन सक्छन् । हामी बीच अन्तर बिरोध फैलाउन सक्छन् तर हामी नेपाली हौं, हामी एकजुट भएर समृद्ध नेपालका धनी जनता बनाउन चाहन्छौं भन्ने ध्येयका साथ यस अभियानमा हिंडेका छौं ।  
नेकपा (एमाले) दैलेखका कार्यवाहक अध्यक्ष प्रेम बुढाको अध्यक्षतामा आयोजित सभामा आठविस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले अध्यक्ष ओलीलाई दैलेख जिल्ला र पुष्पलाल मध्यपहाडी लोकमार्गका बारेमा जानकारी गराउनुका साथै स्थानीय मागहरू समावेश गरिएको ज्ञापन पत्र हस्तान्तरण गर्नुभयो । 
आमसभामा दैलेख, कालीकोट, जुम्ला, सुर्खेत र अछामका हजारौँ जनताको सहभागिता रहेको थियो । 
यसैअघि आजै अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिनलाग्दो संस्कृति विकास भएको र यस्तो संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति भएको बताउनु भयो । 
अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका होनहार युवक अनेरास्ववियुका कार्यकर्ता विनोद शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा खेद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– म विनोद शाहीलाई शहीद घोषणा गर्दछु ।
अहिलेको सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने र चलाई हाल्यो भने पनि मुद्दा फिर्ता लिने काम गरेको ओलीले बताउनुभयो । अदालतले सर्वश्व हरणसहित जन्मकैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको भन्दै अध्यक्ष ओलीले सरकारको आलोचना गर्नुभयो ।
अध्यक्ष ओलीले आफू रहे पनि नरहे पनि देश सधैं रहिरहन्छ भन्ने मानसिकताबाट सबैले काम गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहहरूलाई स्थानीय जनतासँग समन्वय गरेर उनीहरूका आवश्यकता अनुसार काम गर्न निर्देशन दिनुभयो । 
उहाँले वर्तमान सरकार कुनै गन्तव्य बिनाको भएको हुनाले देशको हितका निम्ति कुनै काम गर्न नसकेको र देश विकासका निम्ति एमालेकै सरकार आवश्यक पर्ने बताउनुभयो । 
यात्राको क्रममा आफूलाई दिइएका ज्ञापन र मागपत्रहरूलाई एमालेले गम्भीर रूपमा लिने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले जनताका समस्या र मागलाई एमालेले सधैं शिरोधार्य गरेर नीति निर्माण गर्ने र राष्ट्रिय आत्मविश्वास बढाउने काम गर्ने बताउनुभयो । 
अभियानले सुदूरपश्चिमको विकास र समृद्धिको अध्ययन गरेको छः महासचिव पोखरेल
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाम र दैलेख जोड्ने कर्णाली पुलमा आयोजित अभियानको झण्डा हस्तान्तरण कार्यक्रममा सङक्षिप्त सम्बोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा अध्ययन गर्ने  काम गरेको बताउनुभयो ।
महासचिव पोखरेलले विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गर्ने काम भएको बताउनुभयो ।  
यहि मङ्सिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर शुरु गर्नुभएको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान बैतडी, डडेल्धुरा, डोटी, अछाम हुँदै कर्णालीको दैलेख  आइपुगेको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– यसक्रममा हामीले सुदूरपश्चिमको विकास र  समृद्धिका सम्भावनाको खोजी गर्ने, हाम्रा (एमाले)का बारेमा जनस्तरमा छरेका भ्रमहरू चिर्ने, सुदूरपश्चिमका नागरिकसँग भलाकुसारी गर्ने काम गरेका छौँ ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबारदेखि शुरू भएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’का लागि अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ्, विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुबीर महासेठ, पद्मा अर्याल लगायत नेताहरू सहभागी हुनुहुन्छ । अछामबाट हिडेको अभियान टोलीलाई आज विहान मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले बिदाई र कर्णाली प्रदेशले स्वागत गरेको थियो । 
अछाम र दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो भने कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अध्यक्ष दाामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेपछि  अभियान टोली औपचारिक रूपमा कर्णाली प्रदेश प्रवेश गरेको हो ।
पञ्चकलश र पञ्चकन्यासहित कर्णाली प्रदेशका पार्टीका नेता कार्यकर्ताको टोलीले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई स्वागत गरेको थियो । 
अछामको वेलखेतबाट पैदल पुल क्रश गर्नुभएका अध्यक्ष ओलीले सुदूरपश्चिम र कर्णाली जोड्ने पुलको अवलोकन समेत गर्नुभयो ।