detail-img

अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले राष्ट्र निर्माणका लागि सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ ।
नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले सोमबार कीर्तिपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा  महासचिव पोखरेलले राजनीतिक दलले अब देशलाई समृद्धिको यात्रातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर अघि बढेको राजनीतिक दल भएकाले विकास र समृद्धि यात्राको नेतृत्व एमालेले लिनुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले त्यसैका लागि पार्टीले मध्य पहाडी (पुष्पलाल) लोकमार्ग जागरण यात्रा तय गरेको स्पष्ट पार्नुभयो ।
देशमा विकास र समृद्धिको लागि अब धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल बनाउनुपर्ने बताउँदै उहाँले एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
जति बेला देशमा एमालेको सरकार हुन्छ त्यतिबेला देशमै केही गर्नुपर्छ भन्ने एक खालको उत्साह सञ्चार हुने गरेको र एमाले सरकारबाट बाहिरिने बित्तिकै देशमा निराशा बढ्ने, युवा पलायन हुने स्थिति बढ्ने गरेको महासचिव पोखरेलको भनाइ छ । 
अहिले देशबाट युवा पलायनको दर कहालीलाग्दो रहेको र यस वर्ष मात्रै सात लाख ७२ हजार युवा रोजगारीको लागि विदेसिएको उहाँले तथ्याङ्क सुनाउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– देश बनाउन चाहिने युवा जनशक्ति विदेसिएपछि देश निर्माणको यात्रा कसरी अगाडि बढ्न सक्छ ?
देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भए पनि नागरिकमा निराशा बढेको भन्दै महासचिव पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । नेपालका कम्युनिष्ट पार्टीले निरङ्कुशता विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको बताउँदै जब आन्दोलन सफलताको विन्दुमा पुग्न लाग्छ, त्यतिबेला नेपाली कांग्रेसले सदैव आफूलाई आन्दोलनको भावनाविपरीत उभ्याउने गरेको उहाँले स्मरण गर्नुभयो । 
२००७ सालमा कांग्रेसले जहानिया शासनकै निरन्तरता स्वरूप बनेको मोहनशम्शेर राणा नेतृत्वको सरकारमा सहभागी भएर कम्युनिष्ट र मुक्ति सेनामाथि दमन गरेको उहाँले स्मरण गराउनुभयो । त्यसैको प्रतिफल २०१७ सालको घटना भएको धारणा महासचिव पोखरेलले राख्नुुभयो ।
२०४६ सालमा संविधान निर्माण गर्दा पनि नेपाली कांग्रेसले अडान छाड्दा एमालेले आलोचनात्मक समर्थन गरेर प्राप्त उपलब्धिमा चित्त बुझाउनु परेको महासचिव पोखरेलले बताउनुभयो । 
मदन भण्डारीको नेतृत्वमा २७ बुँदे असहमतिका साथ तत्कालीन संविधानलाई नेकपा एमालेले समर्थन गरेको उहाँले स्मरण गराउनुभयो ।
२०६२/०६३ को जनआन्दोलन त्यही २७ बुँदे असहमतिको जगमा उभिएको र गणतान्त्रिक लोकतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उहाँले बताउनुभयो ।