detail-img

भारतसँग देशको हित विपरीत सम्झौता भए मान्य हुँदैनः बरिष्ठ उपाध्यक्ष पोखरेल

एकीकृत समाजवादी र जसपाका सयौं नेताकार्यकर्ता एमालेमा 

लहान । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गलत सहमति गर्नसक्ने आशङ्का व्यक्त गर्दै त्यसका लागि खवरदारी गर्नुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) जिल्ला कमिटी सिरहाले गोलबजारमा बुधबार आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुपलागेर नबस्ने वताउनुभयो ।
नेकपा (एमाले) सच्चा राष्ट्रवादी भएको बताउँदै उहाँले राष्ट्रको हित विपरीत हुने कुनैपनि सहमति सम्झौता मान्य नहुने बताउनुभयो । नेता पोखरेलले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी वनाउन कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो ।


कार्यक्रममा जनता समावादी पार्टीका प्रदेश सदस्य वीना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंहसहित विभिन्न पार्टी परित्याग गरी सयौंको सङ्ख्यामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
बुधबारै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक, नेता मानवीर यादव, पूर्व गाउँपालिका उपाध्यक्ष अमला यादव, जिल्ला कमिटी सदस्य रामनारायण यादव, वडा अध्यक्ष प्रत्यासी सुमेश यादव, सुभक लाल यादव तथा अनिल यादवको नेतृत्वमा विवेकशील साझा पार्टीको सम्पूर्ण जिल्ला कमिटी र जनता समाजवादी पार्टीका सयौंैंको सङ्ख्यामा नेता कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 
प्रवेश कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका होनहार नेता कार्यकर्ताले केही समयको लागि बाटो विराए पनि अहिले सही ठाउँमा आएको बताउनुभयो । उहाँले सबैको भविष्य यही पार्टीमा भएकाले बाटो विराएकाहरूलाई मूलघरमै सधै स्वागत रहेको बताउनुभयो ।
नेकपा (एमाले) सिरहा जिल्ला कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको वृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लाका नेकपा (एमाले) बाट निर्वाचित नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरू र पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।