detail-img

इपीजीको प्रतिवेदन बुझ्ने विषयलाई प्रधानमन्त्रीले जोड दिएर उठाउनुपर्छः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको क्रममा दुई देशले संयुक्त रूपमा बनाएको प्रबुद्ध वौद्धिक समूह (इपीजी) ले तयार गरेको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने विषयलाई जोड दिएर उठाउनुपर्ने वताउनुभएको छ । 
महासचिव पोखरेलले नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीद्वारा आज आयोजित ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा सम्बोधन गर्दै इपीजीको प्रतिवेदन छिमेकी मुलुक भारतसँगको नयाँ  सम्बन्धका लागि आधारपत्र हुने विचार व्यक्त गर्नुभयो । 
छिमेकी मुलुक भारतसँग नेपालको सम्बन्ध फराकिलो रहेको र समस्या पनि रहेको उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्धलाई जीवन्त बनाउनेतर्फ ध्यान जानुपर्ने वताउनुभयो । 
महासचिव पोखरेलले त्यसका लागि विगतका सन्धि सम्झौताहरू नयाँ शिराबाट नवीकरण गर्नुपर्ने धारणा राख्नुभयो । विगतमा नेकपा (एमाले) को सरकारका पालामा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले भारत भ्रमणको समयमा सन् १९५० को सन्धि पुनरावलोकनको विषय उठाउनुभएको र अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा इपीजी समूह गठन भएको स्मरण गर्नुभयो । 
उहाँले इपीजीको प्रतिवेदन कार्यान्वयन नेपालको हितमा रहेकाले त्यो दुबै देशका सरकारले बुझ्ने र कार्यान्वयन गर्नका लागि दबाब सिर्जना गर्नुपर्ने भनाइ राख्नुभयो । 
महासचिव पोखरेलले प्रधानमन्त्री ‘प्रचण्ड’ को यस पटकको भारत भ्रमणमा जलस्रोतको उपयोगका विषयमा राष्ट्रिय हितलाई ध्यानमा राखी छलफल हुनुपर्ने वताउँदै महाकाली साझा नदी हो भन्ने आधारमा पञ्चेश्वरको कार्यान्वयनमा नेपालको हक, अधिकार स्थापित गर्ने कुरामा चुक्न नहुने धारणा राख्नुभयो ।


उहाँले दुई देशबीचको व्यापार असन्तुलनलाई कम गर्न भारतले नेपाललाई विशेष सहुलियत प्रदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले विद्युत व्यापारबाट व्यापार असन्तुलन कम नहुने वताउँदै स्वदेशमै विद्युत खपतमा जोड दिनुपर्ने र त्यसले पेट्रोलियमको आयात कम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
भारतले सीमाक्षेत्रमा बनाएका बाँधका कारण नेपालीले भोग्नुपरेको डुवानको समस्या समाधानका लागि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहनुभएको समयमा दुई देशको संयुक्त कमिटीले अध्ययनको काम सुरु गरेको र अहिले त्यो रोकिएकाले त्यसलाई अगाडि बढाउने कुरामा जोड दिनुपर्ने उहाँको भनाइ छ । 
महासचिव पोखरेलले नेपालको चुरे क्षेत्रको संरक्षण गर्नु आवश्यक रहेको वताउँदै चुरे उत्खनन् गरी रोडा ढुङ्गा निकासी गर्न नहुने कुरामा प्रधानमन्त्रीको ध्यान जानुपर्ने वताउनुभयो । पारवहन लागत कम गर्न नेपाललाई जल यातायातसँग जोड्ने विषयमा, भूकम्पपछिको पुनर्निर्माणका भारतीय परियोजना सफल नभएको विषयमा पनि प्रधानमन्त्रीले कुरा राख्नुपर्ने उहाँको भनाइ छ । 
महासचिव पोखरेलले दुई देशबीच समानताको सम्बन्ध व्यवहारमा उतार्न राष्ट्रिय शक्तिबीच एकता र राष्ट्रिय सहमति आवश्यक रहेको वताउँदै त्यसका लागि अर्को उपाय राष्ट्रिय सामथ्र्यको विकास पनि हो भन्नुभयो । 
प्रधानमन्त्री प्रचण्डले असंलग्नताका सिद्धान्तप्रतिको प्रतिबद्धता जोडदार रूपमा राख्नुपर्ने वताउँदै प्रधानमन्त्रीको यस भ्रमणले सफलताको सन्देश दिन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नेपाल सरकारका पूर्व सचिव तथा जलस्रोतविद् सूर्यनाथ उपाध्याय  र परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भ्रमणका एजेण्डा राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । 
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य लालबाबु पण्डितले छलफलको विषय उठान गर्नुभएको थियो भने सचिव इन्द्र भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।