detail-img

म एकमुष्ट भन्छु, नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न छैन, थिएन र हुँदैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कुनै पनि भ्रष्टाचारमा संलग्न नरहेको र संलग्न नहुने वताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा  पनि संलग्न छैन, थिएन र हुँदैन भन्नुभएको छ । 
अध्यक्ष ओलीले पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा आयोजित जनसंगठनका पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै भन्नुभयो– म एकमुष्ट भन्न चाहन्छु, नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) संलग्न छैन, थिएन र हुँदैन । 
‘भ्रष्टाचार देश, जनता, विकास र इमानको शत्रु हो’, अध्यक्ष ओलीले भन्नुभयो– पार्टीका नेताकार्यकर्ता कोही कतै दोषी भेटिए एमाले आफैले कारबाही गर्छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रयोग गरेर एमालेलाई कतै मुछ्न, हिलो छ्याप्न खोजिन्छ भने त्यो सह्य हुँदैन भन्नुभयो । 
नेकपा (एमाले) पार्टीहरू मध्येको एउटा पार्टी नभई समाज परिवर्तनको काममा लागेको पृथक पार्टी भएको वताउँदै अध्यक्ष ओलीले एमालेविरुद्ध बदनियत, षडयन्त्रपूर्ण र अनुचित ढङ्गले प्रहार भइरहेको भनाइ राख्नुभयो ।

उहाँले वर्तमान सरकार कुनै पनि ढङ्गले राष्ट्रप्रति जिम्मेवार नदेखिएको र मुलुकका आर्थिकलगायत विभिन्न समस्याप्रति  सरकार बेखबरजस्तै देखिएको वताउनुभयो । 
यसरी नै सरकार चल्दै जाने हो भने देशले दुर्दिन व्यहोर्नुपर्ने हुनसक्छ भन्दै अध्यक्ष ओलीले त्यो अवस्था आउनबाट रोक्नका लागि नेकपा (एमाले) को सिङ्गो पार्टीपङ्ती क्रियाशील हुनपर्ने आवश्यकता रहेको वताउनुभयो ।  
अध्यक्ष ओलीले एमालेमाथि सबैतिरबाट तीब्र हमला गरेर सिध्याउन खोजे पनि पार्टीलाई अझ सशक्त रूपमा अघि बढाउने बताउनुभयो । 
भयानक हमलाबाट पार्टीलाई जोगाएर अझ सशक्त ढङ्गले पुनर्जीवित गर्न सकिएको र पार्टीभित्र अन्तरध्वंश मच्चाउनेहरू निस्केपछि पिलो निचोरिएजस्तै भएको चर्चा गर्दै अध्यक्ष ओलीेले यस घटनाबाट पार्टीलाई शुद्धीकरण गर्ने मौका पाएको र मूलरूपमा शुद्धीकरण भएको वताउनुभयो । 
उहाँले पार्टीविरुद्ध दशतिरबाट प्रहार भइरहेको समयमा पार्टीको रक्षा गर्ने असाधारण काम भएकामा सबै जनसंगठन र सिङ्गो पार्टीपङ्तीलाई धन्यवाद दिनुभयो । 
अध्यक्ष ओलीले अहिले नेपाल र नेपाली समाज आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक हिसावले  अफ्ठ्यारो स्थितिबाट गुज्रिरहेको वताउँदै राजस्वले सामान्य प्रशासनिक खर्च धान्न नसक्ने अवस्थामा पुगेको हुँदा सिङ्गो देश यस बिषयमा सचेत हुनुपर्ने वताउनुभयो । 
उहाँले जनसंगठनका पदाधिकारीहरूलाई देश विग्रन नदिनका लागि वैचारिकरूपमा सचेत र सक्रिय जनमत तयार गर्नुपर्ने भएकाले त्यस काममा लाग्न निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– फुर्सदको समयमा आरामले काम गर्ने अवस्था देशको छैन । देश बर्बाद भएपछि होइन, समयमै सचेतना र सक्रियतासाथ लाग्नूस् । 
कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले प्रशिक्षणमूलक र निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । 
त्यस क्रममा नेताहरूले जनसंगठनहरू आफ्नो समुदायका मुद्धा र एजेण्डाको नेतृत्व गर्दै संगठन निर्माणमा लाग्नुपर्ने वताउनुभयो ।  उहाँहरूले जनसंगठनहरूलाई कार्यालय व्यवस्थापन, संगठनमा नयाँ मानिस भित्र्याउने र प्रशिक्षण दिने, त्यसका लागि प्रशिक्षक तयार गर्ने लगायतका काम मसिनो गरी सम्पादन गर्न आग्रह गर्नुभयो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजन भानुभक्त ढकालको अध्यक्षतामा भएको भेलाको सञ्चालन केन्द्रीय कमिटी सदस्य तथा संयन्त्रका सहसंयोजक रचना खड्काले गर्नुभएको थियो । भेलामा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, स्थायी कमिटी सदस्य सीता पौडेल र  थममाया थापा लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । भेलामा नेकपा (एमाले) का २३ वटै जनसंगठनक पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।