detail-img

नेकपा एसका केन्द्रीय सचिव विश्वासीसहित तीनसयभन्दा बढी नेताकार्यकर्ता नेकपा (एमाले) मा समाहित

दाङ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, दुईजना केन्द्रीय सदस्य, दाङ जिल्ला कमिटीका अध्यक्षलगायत पदाधिकारीलगायत दाङका नेताकार्यकर्ताहरू नेकपा (एमाले) मा समाहित हुनुभएको छ । 
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा आयोजित नेत्रलाल पौडेल अभागीको ४० औं स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाहरूलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।
सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मी, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला कमिटीका अधिकांश सदस्यहरूसहित करिव चार सयजना नेकपा (एमाले) मा फर्किनुभएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव  पोखरेलले कम्युनिष्ट नेता नेत्रलाल अभागीले पार्टीका लागि खेल्नुभएको भूमिका प्रेरणाको रूपमा रहेको बताउनुभयो ।  
उहाँले जति–जतिबेला पार्टीमाथि सङ्कटको चुनौती उत्पन्न हुन्छ, त्यतिबेला आफूहरूले नेत्रलाल र उहाँको योगदान अनि प्रेरणालाई सम्झिने गरेको बताउनुभयोे । 
समग्र कम्युनिष्ट आन्दोलन विभाजनको पीडाबाट गुज्रिरहेको बेला दाङको कम्युनिष्ट आन्दोलनलाई जोगाउन नेत्रलालले खेल्नुभएको महत्वपूर्ण र अगुवा भूमिकाको महासचिव पोखरेलले स्मरण गर्नुभयो ।महासचिव पोखरेलले पार्टीले देश बनाउने स्पष्ट नीति, विचार र गन्तव्य बोकेर अगाडि बढिरहेकाले कहिल्यै पनि पुरानो नहुने वताउनुभयो । महासचिव पोखरेलले समाजमा लोकप्रियता हासिल गरेकै कारण राजनीतिमा आउनेहरूलाई देशको चिन्ता नहुने र देश नबनाउने वताउनुभयो । 
युक्रेनमा एउटा हास्य कलाकारलाई जनताले राष्ट्रपति बनाउँदा उनी पश्चिमा शक्ति राष्ट्रको स्वार्थको घोडा बनेर अगाडि बढ्न खोज्दा आज युक्रेन तहस नहस भइरहेको उदाहरण प्रस्तुत गर्दै महासचिव पोखरेलले नेपालमा पनि देश बनाउने कुनै लक्ष्य, उद्देश्य र नीति नभएकाहरू समाजमा लोकप्रियता हासिल गरेकै आधारमा राजनीतिमा आएका र तिनीहरूले समाज परिवर्तन गर्न नसक्ने वताउनुभयो । 
नेपालका राजनीतिक दलहरूले लामो समयसम्म व्यवस्था परिवर्तनका लागि सङ्घर्ष गर्नु परेकाले आफूलाई देश निर्माताका रूपमा स्थापित गर्न नसकेको यथार्थ हो भन्दै महासचिव पोखरेलले त्यसकै आधारमा कांग्रेस र नेकपा (एमाले) लाई पुराना भए भन्नु गलत हुने वताउनुभयो ।