detail-img

‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनु राज्यविरुद्धको अपराध’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउनु राज्यविरुद्धको घात र गम्भीर अपराध भएको बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीको दोस्रो बैठकको तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा विहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको निर्दोष कोही नफसाउने र दोषी उम्किन नदिने गरी निष्पक्ष छानबिन हुनु जरूरी रहेको बताउनुभयो । 
उहाँले लडाकू शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, बजेट निर्माण गर्दा राजश्वका दरहरू हेरफेर गरी निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने प्रकरण पनि छानबिन गरौँ भन्नुभयो । 
समाजमा पार्टी र नेताहरू खराब हुन् भन्ने भाष्य खडा नगर्न आग्रह गर्दै महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको वताउनुभयो । 
उहाँले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति अवलम्वन गरेकै कारण आज नेपाल आर्थिक सङ्कटमा फसेको र यसको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने वताउनुभयो ।  महासचिव पोखरेलले अनेरास्ववियुले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताउनुभयो ।


अनेरास्ववियुका अध्यक्ष समिक बडालको अध्यक्षतामा भएको बैठक उद्घाटन कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल, पार्टीका केन्द्रीय सदस्य रचना खड्का लगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।