detail-img

समृद्ध नेपाल बनाउने अभिभारा हाम्रो काँधमा छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज ३१औं स्मृति दिवसमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उच्च सम्मान प्रकट गरेको छ । 
पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरूले विहान मदन नगर, बल्खुमा आयोजित कार्यक्रममा स्व. मदन– आश्रितका तस्वीरमा माल्यार्पण गर्नुका साथै उहाँहरूको योगदानको स्मरण र सम्मान प्रकट गर्नुभयो ।

 

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल बनाउने जननेता भण्डारीको सपना हामी उत्तराधिकारीले पूरा गर्नुपर्छ भन्नुभयो ।  
जननेता भण्डारीले छोडेर जानुभएका अभिभारा पूरा गर्न सक्ने विचार र संगठन एमालेसँग रहेको र पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाई सक्रिय हुनुपर्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– नेपाललाई आधुनिक, सम्पन्न र न्यायोचित देशका रूपमा परिणत गर्ने कर्तव्य हाम्रो काँधमा आएको छ । यो हाम्रा सन्तति र भविष्यसँग जोडिएको विषय हो । 
समृद्ध नेपाल बनाउने यात्रामा अबरोध पुर्याउन विरोधीहरू षडयन्त्र गरेर आउने हुँदा जननेता भण्डारीले छोडेर जानुभएका अभिभारा पूरा गर्न सजिलो नभए पनि सम्भव रहेको वताउँदै अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्तालाई ‘हामी जित्छौं’ भन्ने आत्मविश्वास र उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । 
देशको परिस्थिति अत्यन्तै गम्भीर र जटिल रहेको, नेपाली कांग्रेस देशलाई कसरी सही बाटोमा लैजानुपर्ने हो भन्ने सोच्न सक्ने अवस्थामा पनि नरहेको, सरकार उद्देश्यविहीन, गन्तव्यहीन, नीतिविहीन तथा कार्यक्रमविहीन अवस्थाबाट गुज्रिइरहेको चर्चा गर्दै अध्यक्ष ओलीले देशको विग्रेको, भत्केको  राजनीतिक, आर्थिक तथा सामाजिक स्थितिलाई कसरी सङ्लो बनाउने भन्ने विषयमा सरकार गम्भीर नरहेको वताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– सत्तारूढ गठबन्धनमा रहेको ठूलो दल नेपाली कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन...’ बोलको गीत जस्तो किंकर्तव्यविमुढको अवस्थामा छ, सरकार सर्पको मुखमा परेको भ्यागुतो जस्तो आफू सर्पको आहारा बन्दाबन्दै पनि खान पाए नछोड्ने खालको छ । 
अध्यक्ष ओलीले सत्तामा पुग्नका लागि, सरकार गठनका लागि एमालेबाट गठबन्धन बनाउने काम नहुने स्पष्ट गर्दै वस्तुतः नेकपा (एमाले) एक्लैले जटिल परिस्थितिबाट देशलाई जोगाउनुपर्ने छ भन्नुभयो । 
अध्यक्ष ओलीले ३१औं मदन– आश्रित स्मृति दिवसमा जनताको बहुदलीय जनवादको उद्देश्य साकार पारेरै छाड्ने सङ्कल्प गर्दै यसबाट उहाँहरूप्रति सम्मान हुने विश्वास व्यक्त गर्नुभयो । 
जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।  
कार्यक्रममा महासचिव शंकर पोखरेलले मुलुकको सङ्कटमोचन गर्न सक्ने पार्टी नेकपा (एमाले) मात्रै भएको वताउनुभयो । उहाँले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता आजका चुनौती रहेको वताउँदै मदन– आश्रितका योगदानको जगमा आजका चुनौतीको सामना गर्नुपर्ने धारणा राख्नुभयो । 
जननेता भण्डारीको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्दै अगाडि बढाउन सफलता मिलेको, पुष्पलालले अगाडि सार्नुभएको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको अवधारणा कार्यान्वयन गर्न सफल भएको, २०४७ सालको संविधान जारी गर्दा जननेता भण्डारीले पार्टीका तर्फबाट राख्नुभएका २७ बूँदे फरक मत २०६२÷६३ को जनआन्दोलनले अनुमोदन गरेको चर्चा गर्दै महासचिव पोखरेलले जननेता भण्डारी दूरदर्शी नेता भएको वताउनुभयो । कार्यक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरू, अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य, स्व.जीवराज आश्रितकी पत्नी माया ज्ञवाली  तथा ठूलो सङ्ख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो ।