‘थिंक ट्याङ्क’ एकतर्फी मेगाफोन होइन, रचनात्मक आलोचक र भविष्यको निर्माता बन्नुपर्नेमा जोड
५ मङ्सिर (२०८३), काठमाडौँ । नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले एसिया–प्रशान्त क्षेत्रको आर्थिक रूपान्तरण र साझा समृद्धिको आकाङ्क्षालाई आम मानिसको दैनिक जीवनसँग जोड्न नीति अध्ययन प्रतिष्ठान (थिंक ट्याङ्क) हरूले ज्ञान र नीतिबीचको सेतुका रूपमा निर्णायक भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको अन्तराष्ट्रिय विभाग (IDCPC) अन्तर्गतको थिंक ट्याङ्क चाइना सेन्टर फर कन्टेपोरेरी वर्ल्ड स्टडिज (CCWS) द्वारा चीनको ग्वाङझाउमा आयोजित ‘चीनको आधुनिकीकरण र एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिः थिंक ट्याङ्कहरूको जिम्मेवारी र अभियान’ विशेष सम्वादमा सम्बोधन गर्दै अध्यक्ष रिमालले क्षेत्रीय सहकार्यलाई केवल कूटनीतिक विज्ञप्तिमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
समावेशी वृद्धि र बदलिँदो भूराजनीतिक चुनौती
दशकौँदेखि एसिया–प्रशान्त क्षेत्र विश्व अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा रहँदै आएको उल्लेख गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य रिमालले खुला व्यापार, अन्तरसम्बन्धित आपूर्ति शृङ्खला र क्षेत्रीय सहकार्यले करोडौँ मानिसलाई गरिबीबाट मुक्ति दिलाएको बताउनुभयो ।
यद्यपि, पछिल्लो समय भूराजनीतिक तनावले सहकार्यमा अवरोध पुर्याइरहेको र आपूर्ति शृङ्खलाहरू रणनीतिक प्रतिस्पर्धाको चपेटामा परेको उहाँको विश्लेषण थियो । तीव्र प्राविधिक विकासले अथाह सम्पत्ति सिर्जना गरे पनि सँगसँगै नयाँ असमानताहरू जन्माइरहेको भन्दै उहाँले विकासोन्मुख विश्वका नागरिकलाई विकासको आगामी चरणमा समेट्नु आजको मुख्य चुनौती रहेको औँल्याउनुभयो ।
चिनियाँ आधुनिकीकरणको दर्शन र नेपालका लागि सिकाइ
सम्बोधनका क्रममा नेता रिमालले चिनियाँ आधुनिकीकरण केवल आर्थिक रूपान्तरण मात्र नभई चीनको आफ्नै इतिहास र परिस्थितिलाई आत्मसात् गर्दै विकसित भएको एक विशिष्ट विकास दर्शन भएको बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा महासचिव सी चिनफिङले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई उद्धृत गर्दै उहाँले चिनियाँ आधुनिकीकरणका पाँच आधारस्तम्भहरूको चर्चा गर्नुभयोः क) एक अर्ब ४० करोडभन्दा बढी विशाल जनसङ्ख्याको आधुनिकीकरण, ख) सामाजिक ध्रूवीकरण रोक्दै सबैका लागि साझा समृद्धि हासिल गर्ने लक्ष्य, ग) भौतिक सम्पन्नताका साथै सांस्कृतिक र नैतिक उत्थानको सन्तुलन, घ) मानव र प्रकृतिबीचको सामञ्जस्यता, र ङ) शान्तिपूर्ण तथा पारस्परिक लाभमा आधारित विकासको मार्ग ।
यी सिद्धान्तहरूले आधुनिकीकरण पुँजी–केन्द्रित नभई जन–केन्द्रित, शोषणकारी नभई पर्यावरणीय रूपमा दिगो र विस्तारवादी नभई शान्तिपूर्ण हुनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको नेता रिमालले बताउनुभयो । आधुनिकताको कुनै एकल वा पश्चिमा खाका मात्र नहुने उल्लेख गर्दै उहाँले नेपालजस्तो मुलुकले अन्तर्राष्ट्रिय साझेदारहरूबाट सिक्दै र आफ्नै राष्ट्रिय प्राथमिकतामा अडिग रहँदै क्षेत्रीय गतिशीलतालाई आन्तरिक उत्पादन क्षमता, प्रविधि हस्तान्तरण र मर्यादित रोजगारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
थिंक ट्याङ्कका चार व्यावहारिक जिम्मेवारी
क्षेत्रीय दृष्टिकोणलाई स्थानीय यथार्थमा बदल्न ज्ञान र नीति, सरकार र नागरिक तथा राष्ट्रिय हित र साझा क्षेत्रीय लक्ष्यबीच सेतु निर्माण गर्नु थिंक ट्याङ्कहरूको मूल लक्ष्य भएको बताउँदै नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष रिमालले चारवटा व्यावहारिक जिम्मेवारी प्रस्तुत गर्नुभयोः
दृष्टिकोणको अनुवादकः एकतर्फबाट मात्र बोल्ने थिंक ट्याङ्क ‘मेगाफोन’ मात्र हुने भएकाले चीनका विकास प्राथमिकता र छिमेकी अर्थतन्त्रहरूका अपेक्षा एवं चिन्तालाई दोहोरो रूपमा बुझाउने सेतु बन्नुपर्ने ।
तथ्यको निर्माताः साझा समृद्धिलाई संयुक्त विज्ञप्तिबाट मात्र नभई तथ्याङ्कबाट मापन गर्नुपर्ने तथा साना व्यवसाय र ग्रामीण समुदायले पूर्वाधार र व्यापारबाट वास्तविक लाभ पाए÷नपाएकोबारे स्वतन्त्र र कठोर अनुसन्धान गर्नुपर्ने ।
रचनात्मक आलोचकः व्यापार असन्तुलन, औद्योगिक अतिरिक्त क्षमता, ऋणको दिगोपन र प्राविधिक निर्भरताबारे विभिन्न अर्थतन्त्रका जायज चिन्ताहरूलाई बेवास्ता वा राजनीतिकरण नगरी व्यावहारिक समाधान खोज्ने साहस राख्नुपर्ने ।
दीर्घकालीन दूरदर्शिताः अल्पकालीन राजनीतिक चक्रभन्दा पर हेर्दै सन् २०३५ र २०४० को योजना बनाउन, जलवायु सङ्कट, तथ्याङ्क सुशासन (डाटा गभर्नेन्स) र डिजिटल अर्थतन्त्रका नियम तय गर्दा साना र ठूला दुवै अर्थतन्त्रको समान आवाज सुनिश्चित गर्न मद्दत गर्नुपर्ने ।
भविष्यको अध्यता मात्र होइन, निर्माता बनौँ
एसिया–प्रशान्त क्षेत्रको समृद्धि कहिल्यै पनि कसैको हार र कसैको जितको खेल (जिरो–सम गेम) बन्न नहुने भन्दै नेता रिमालले एउटा देशको प्रगति अर्को देशको मूल्यमा हुनु आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।
‘सेन्जेनदेखि काठमाडौँसम्म, जकार्तादेखि सुभासम्म आम परिवारहरूले मर्यादित जीविकोपार्जन, आत्मसम्मान र आफ्ना सन्तानका लागि शान्तिपूर्ण भविष्य चाहेका छन्,’ सम्बोधनको अन्त्यमा उहाँले भन्नुभयो– ‘साझा भविष्यसहितको एसिया–प्रशान्त समुदाय’लाई केवल कूटनीतिक शब्दावलीमा सीमित नराखी आम मानिसले अनुभूत गर्ने यथार्थ बनाउनु नै हाम्रो दायित्व हो । आउनुहोस्, हामी भविष्यको अध्यता मात्र नबनौँ, भविष्य निर्माण गर्न पनि मद्दत गरौँ ।
