detail-img

मिसन ग्रासरुटः बाग्मती प्रदेशको समीक्षा सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) समीक्षा बैठक बुधबार सम्पन्न भएको छ ।
पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल,स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, काशिनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।


बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलले बैठकमा उठेका विषयवस्तुका बारेमा स्पष्ट पार्नुका साथै प्रदेश कमिटीले तयार गर्ने प्रतिवेदनमा आउनुपर्ने विषयबस्तु र समसामयिक विषयमा बोल्नुभएको थियो । 
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालले प्रतिवेदन प्रस्तुतिमा समावेश गर्नुपर्ने विषयमा अभिमुखीकरण गर्नुभएको थियो । 
तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा दुई दिनसम्म चलेको बैठकमा अभियानका लागि खटिनुभएका ४९ जना केन्द्रीय प्रतिनिधि र १३ जिल्लाका अध्यक्षले प्रतिवेदन पेश गर्नुभएको थियो । बैठकमा अभियानका क्रममा सम्पन्न गरिएका कामहरूका बारेमा व्यापक छलफल भएको र बैठकले आगामी कार्ययोजनासहितको प्रतिवेदन तयार गर्ने भएको छ । 
प्रतिवेदन तयार गर्न नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य धर्मदत्त देवकोटाको संयोजकत्वमा प्रदेश अध्यक्ष केशव पाण्डे, सचिव विजय सुवेदी, प्रदेश कमिटी सदस्यहरू नेत्र तिमिल्सिना र दीपेन्द्र श्रेष्ठ गरी पाँच जनाको कमिटी बनेको र कमिटीले काम सुरु गरिसकेको प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिनुभयो ।