२९ साउन (२०८२), ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलनका लागि यतिवेला देशभर पार्टीका विभिन्न जिल्ला प्रदेश लगायतका कमिटीहरू र गैरभूगोलका कमिटीका बैठक आयोजना गरी सुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।
यस क्रममा आज राजधानीमा सामाजिक क्षेत्रबाट सुझाव सङ्कलनका लागि कार्यशालाको आयोजना गरियो ।
मानव अधिकार एलाइन्सद्वारा ललितपुरमा आयोजित कार्यशालामा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र केन्द्रीय कमिटी सदस्य तथा मानव अधिकार एलाइन्सका इन्चार्ज विष्णु रिजालले विधान संशोधन प्रस्तावका बारेमा स्पष्ट गर्नुहुँदै थप सुझावहरू भए सुझाव राख्न आग्रह गर्नुभएको थियो ।
कार्यशालालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले ७० बर्षे उमेर हद र दुई कार्यकालको विषयलाई लिएर विधानका सम्बन्धमा पार्टीभित्र विवाद सिर्जना गर्न खोजिए पनि त्यसलाई समाधान गरिएको बताउनुभयो । उहाँले पार्टीमा विवाद र विग्रह सिर्जना गर्ने प्रयास भए पनि त्यो सफल नहुने र पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी नेतृत्व आवश्यकताले निर्माण गर्ने बताउँदै अहिले पार्टीमा केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको स्पष्ट गर्नुभयो ।
उहाँले नेतृत्व निर्माणका लागि उमेर हद सर्वकालीक सिद्धान्त हुन नसक्ने स्पष्ट गर्दै नेपाली कांग्रेस जस्तो ठुलो प्रजातान्त्रिक पार्टीले समेत नेतृत्व स्वीकार गरिरहेको अवस्थामा अध्यक्ष ओलीको विकल्प सोच्न नसकिने धारणा राख्नुभयो ।
एलाइन्सका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा सहभागीहरूबीच समूहगत छलफल गरी सुझावहरू सङ्कलन गरिएको थियो ।
पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिएको विधान संशोधन प्रस्ताव पार्टीको सचिवालय, पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकबाट पारित भई सुझावका लागि मातहतका कमिटीमा पठाइएको हो ।