२४ असार (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बैकुण्ठनाथ दाहालको ७१ बर्षको उमेरमा सोमबार उपचारका क्रममा दुःखद निधन भएको छ ।
नेकपा (एमाले)ले स्वर्गीय दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
२०११ साल चैत २९ गते ओखलढुङ्गामा जन्मनुभएका दाहाल हाल उदयपुर जिल्ला, त्रियुगा नगरपालिका वडा नं ३ का स्थायी बसोवास गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।
२०२९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका दाहाल निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा रहेर क्रियाशील रहनुभएका दाहालले गर्नुभएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गरेको छ ।
पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले परिषद्को तर्फबाट स्व. दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकको यस घडीमा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि पत्रकारिता र सामाजिक गतिविधिमा सक्रिय दाहाल नेपाल बार एसोसिएशन, उदयपुरका पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो ।
स्व. दाहालको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई लगायत नेताकार्यकर्ताहरूले स्व.दाहालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।