detail-img

देशको विकास एमालेबाहेक अरू कसैले गर्न सक्दैन भन्ने प्रमाणित भइसकेको छः अध्यक्ष ओली

वयलपाटा अस्पताल निरीक्षण
वैद्यनाथ मन्दिर तथा बेद विद्याश्रम अवलोकन
चौखुट्ट चौरपाटी, साँफेबगरमा सन्देश सभा
मङ्गलसेनमा बृहत सभा
सबै सभाहरूमा हजारौंको सहभागिता
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरू कसैले गर्न नसक्ने बताउनुभएको छ । 
पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अभियान अन्तर्गत चौखुट्ट चौरपाटी, साँफेबगर र मङ्गलसेनमा आज (मङ्सिर १६गते) आयोजित सन्देश सभा तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास रोकिएको बताउनुभयो । 
गठबन्धन सरकार आएपछि देशमा अस्थिरता बढेको, अराजकता फैलिएको र अर्थतन्त्र ओरालो लागेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले सरकारको ध्यान देश विकासमा नभई तस्करी र भ्रष्टाचारमा केन्द्रित रहेको बताउनुभयो । 
नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि आफूहरू देशभरको अवस्था बुझ्न महाकाली—मेची अभियानमा निस्केको उहाँले स्पष्ट गर्नुभयो ।


अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताहरूसहितको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान टोली आज तेस्रो दिन अछाम पुगेको हो ।  
अध्यक्ष ओलीले सम्बोधन क्रममा नेकपा (एमाले)को नेतृत्वको सरकारका समयमा भएका विकासका कामको चर्चा गर्दै अब देश विकासका लागि आगामी २०८० को निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
उहाँले पार्टीका नेताकार्यकर्तालाई पार्टीको मिसनमा केन्द्रित भएर काम गर्न निर्देशन दिँदै वर्तमान गठबन्धन सरकारको काम देखिसकेका अन्य पार्टीमा रहेको राजनीतिक कार्यकर्तालाई एमालेमा समाहित भई देश बनाउने काममा सहयोग पुर्याउन आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले) अहिलेसम्म सरकारमा रहेको भए अहिलेजस्तो दैनिक तीनहजार युवा विदेशिने क्रम यसरी बढ्ने थिएन । देशमै रोजगारी सिर्जना गरिने थियो । देशको विकास धेरै अगाडि बढेको हुने थियो । काम गर्ने जनशक्ति विदेशिएका कारणले पनि प्राकृतिक रूपमा धनी भएर पनि देशको विकास अबरुद्ध भएको छ । 
उहाँले भन्नुभयो– सरकारका असफलता र अकर्मन्यताका कारण यतिबेला संविधान र हाम्रा उपलब्धिलाई चुनौती दिएर, लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरू माघ १९मा जस्तै, २०१० साल फागुनमा जस्तै वा २०१७ सालमा जस्तै खोेस्छौं भनेर मरिसकेको राजतन्त्रका नाममा केही तत्वहरू टाउको उठाउन थालेका छन्, सल्बलाउन थालेका छन् । देशको राजनीति अस्थिरता र अराजकतातिर धकेलिइरहेको छ । विभिन्न ढङ्गले जनतालाई विभाजित गर्ने, फाटो ल्याउने, द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । ति प्रयासहरू असंवैधानिक, अलोकतान्त्रिक र हिंसा निम्त्याउने खालका छन् । तर, सरकारले तिनीहरूलाई वास्ता नगरेर संरक्षण र प्रोत्साहन गरिरहेको छ । 
अध्यक्ष ओलीले सुदूरपश्चिम अहिले अलिकति पछाडि परेको/पारिएको भए पनि यो भूमिले देशको परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–सुदूरपश्चिमले इतिहासमा असाधारण योगदान गरेको छ । नेपालमा अत्याचारी शासकविरूद्ध पहिलो पटक संगठित विद्रोह गर्ने बाकावीर बलदेव शाह हो र उहाँ नै पहिलो शहीद पनि हो । 
अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सुदृढ आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिनुभयो ।
मङ्गलसेनमा आयोजित सभाको अध्यक्षता नेकपा (एमाले) अछामका अध्यक्ष चन्द्र बोहोराले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव भीम रावलले गर्नुभएको थियो । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा अछाम जिल्ला इन्चार्ज लालबहादुर थापाले अध्यक्ष लगायत अभियान टोलीलाई कदरपत्र प्रदान गर्नुभएको थियो भने केन्द्रीय सदस्य यज्ञ बोगटीले अछामी जनताको तर्फबाट अध्यक्ष ओलीसमक्ष जिल्लाका समस्या जानकारीसहितको मागपत्र प्रस्तुत गर्नुभएको थियो ।  
नेकपा (एमाले)को यात्रा अभियान टोली आज डोटीको सिलगढीबाट चौखुट्टे, साँफेबगर, बयलपाटा हुँदै मङ्गलसेन पुगेको छ । यात्रा अभियानका क्रममा ठाउँ ठाउँमा अत्यन्त उत्साहका साथ हजारौं स्थानीय नेताकार्यकर्ता र जनताबाट स्वागत गरिएको छ । अछाममा अध्यक्ष ओली लगायतका नेताहरूले वैद्यनाथ मन्दिर र वेद विद्याश्रमको अवलोकन गर्नुभएको थियो । वैद्यनाथ मन्दिर हिन्दु धार्मिक मान्यता अनुसार चारधाममध्येको एक मानिन्छ । 
त्यसैगरी अध्यक्ष ओली लगायत नेताहरूले बयलपाटा अस्पतालको निरीक्षण गर्नुभयो भने यात्राक्रममा जमल गाउँमा मुसलमान समुदाय रहेको बस्तीमा रोकिएर भेटघाट गर्नुभएको महासचिव शंकर पोखरेलका निजी सचिव सरोजकुमार रेग्मीले बताउनुभयो ।