detail-img

उपाध्यक्ष नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 
उहाँले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतले पराजित गर्नुभयो । संविधान सभा अध्यक्ष नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाउनुभएको छ । 
यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित हुनुभएको थियो । 

सुनसरी– २ बाट आचार्य 
प्रतिनिधि सभा सदस्य निर्वाचित 
सुनसरी । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।
उहाँले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गर्नुभएको हो । 
नेता आचार्यले ३२ हजार ८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मेहताले २६ हजार ५८ मत ल्याउनुभयो । 
उहाँ यसअघि २०७४ सालको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. १(१) बाट प्रदेश सभा सदस्य निर्वाचित भई प्रदेश–१ को मुख्यमन्त्री बन्नुभएको थियो । 
महोत्तरी–१ बाट महतो 
प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाडौं । महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी महतो निर्वाचित हुनुभएको छ ।
महतो नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 
उहाँले २३ हजार ४०२ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याउनुभयो । 


मोरङ–२ बाट प्रतिनिधि सभा सदस्यमा पोखरेल विजयी

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएको छ । 
उहाँ गठबन्धनकी साझा उम्मेदवार नेपाली काँग्रेसकी सुजाता कोइरालालाई १ हजार २०८ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।
पोखरेलले ३३ हजार १४८ मत प्राप्त गर्नुभएको छ भने कोइरालाले ३१ हजार ९४० मत पाउनु भएको छ । 
नेकपा (एमाले) मोरङका अध्यक्ष पोखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित हुनुभएको थियो । 

धनकुटाबाट राई दोस्रो पटक 
प्रतिनिधि सभा सदस्य निर्वाचित

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा –एमाले) का उम्मेदवार राजेन्द्र राई निर्वाचित हुनुभएको छ । 
उहाँले नेपाली काँग्रेसका उम्मेदवार सुनिल बहादुर थापालाई पराजित गर्नुभयो । 
नेकपा (एमाले) का केन्द्रीय सदस्य राईले ३० हजार १०१ मत प्राप्त गरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ भने थापाले २८ हजार ७०४ मत प्राप्त गर्नुभयो । 

सिरहा– १ बाट यादव विजयी 

सिरहा । सिरहा निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रामशंकर यादव निर्वाचित हुनुभएको छ । 
उहाँले निकटतम प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरीलाई पराजित गर्नुभएको छ । 
यादवले २९ हजार ४६५ मत प्राप्त गर्नुभएको छ भने चौधरीले २७३७९ मत ल्याउनुभयो ।