detail-img

‘मुलुकमा स्थिरता र स्थायित्व कायम गर्ने निर्वाचन परिणाम आएन’

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभएको छ । 
त्यसका लागि, देशमा स्थिरता र स्थायित्व  ल्याउने निर्वाचन परिणामा आउनुपर्ने थियो, त्यसमा भुलचुक भएको अध्यक्ष ओलीले भनाई थियो ।  
झापा क्षेत्र नं. ५ का विभिन्न ठाउँमा मतदाताहरुलाई धन्यवाद दिएर गौरीगन्जमा आज आयोजनामा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।


उहाँले सरकारले निर्वाचनमा मात्र होइन, मत गणना पनि व्यापक धाँधली गरेको बताउनुभयो । 
‘गठबन्धन सरकारले निर्वाचनमा त धाँधली गर्यो गर्यो, मत गणना पनि धाँधली गरेको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यसको पछिल्लो उदाहरण धनुषाको क्षेत्र नम्बर २ हो । उक्त क्षेत्रमा गएराति व्यापक मात्रामा प्रहरी परिचालन गरी गठबन्धनका उम्मेदवारलाई विजयी घोषणा गरेको छ ।’ 
उहाँले सरकारमा रहेका गठबन्धनबाट भएको धाँधली लगायत विभिन्न कारणले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई सर्वाधिक मत दिएर विजयी बनाउने झापा निर्वाचन क्षेत्र नं. ५ का जनतालाई धन्यवाद दिनुभयो । 
उहाँले २०४८ सालदेखि २०६४ सालको अपवादलाई छोडेर निरन्तर  आफूलाई जिताएका कारण यस क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।