detail-img

‘आफ्नै सरकार ढाल्ने माधव, प्रचण्डलाई जनताले निर्वाचनबाट जवाफ दिनुपर्छ’

सन्धिखर्क । नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको आयोजनामा सोमबार जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले आफ्नो पार्टीको सरकारले ढालेर माधव नेपाल र प्रचण्डले राजनीतिक कुसंस्कार देखाउने काम गरेको बताउनुभयो । 
उपाध्यक्ष नेम्वाङले  राजनीतिक बेइमानी गर्ने नेताहरूलाई जनताले मसिर ४ गतेको निर्वाचनबाट जवाफ दिनुपर्ने बताउनुभयो । 
निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने तागत एमाले बाहेक नेपालका कुनै दलसँग नभएको बताउँदै उपाध्यक्ष नेम्वाङले एमाले कति शत्तिशाली रहेछ भन्ने यसैबाट प्रमाणित भएको बताउनुभयो ।
सत्तामा रहेका दलहरू प्रतिपक्षसँग डराएर गठबन्धन गरी निर्वाचनमा जाने अवस्था सिर्जना भएको वताउँदै उहाँले परमादेशी सरकारलाई जनमतद्वारा विस्थापित गरी एमाले सत्तामा जाने विश्वास व्यक्त गर्नुभयो ।  
राष्ट्रियताको सवालमा एमालेले कसैसँग सम्झौता नगर्ने बताउँदै  नाकाबन्दी खोल्ने र नाकाबन्दीको त्रास सदाका लागि अन्त्य गर्ने, चुच्चे नक्सा प्रकाशन गरी आफ्नो भूभागको संरक्षणका लागि पहल गर्नेसम्मका अध्यक्ष ओलीका कदमले नेपालको स्वाभिमान उँचो भएको उपाध्यक्ष नेम्वाङले बताउनुभयो । 
पार्टीभित्रका केही समस्या समाधान गरी मसिर ४ गतेको निर्वाचन जाँदा अझै सफलता प्राप्त हुने उहाँको भनाई थियो । उहाँले पार्टीभित्रका कमी कमजोरीलाई सच्याएर जनतामा जानुपर्ने बताउनुभयो ।  गठबन्धन सरकार भ्रष्टाचारमा डुवेको बताउँदै सरकार गैरकानुनी  धन्दामा लागेको उपाध्यक्ष नेम्वाङको भनाई थियो । 
कार्यक्रममा पार्टीका सचिव टोपबहादुर रायमाझीले जिल्लामा स्थानीय निर्वाचनको चर्चा गर्दै एमालेका केही पकेट क्षेत्रलाई जोगाउन नसकिएका विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 
नेता रायमाझीले गठबन्धन देशमा कुशासन र बेथिति ल्याउनका लागि भएको बताउनुभयो । 
नेकपा एमालेलाई एकल बहुमतको सरकार निर्माण गर्ने गरी मतदान गर्न मतदातासँग आग्रह गर्दै एमाले बाहेक अन्य कुनै दलले देशको विकास गर्न नसक्ने उहाँको भनाई थियो ।  
पार्टीका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले एमालेले चारैतिरको घेराबन्दीलाई तोड्दै विजय यात्रामा अगाडि बढ्ने बताउनुभयो । 
पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा बोल्न थालेपछि उहाँको नेतृत्वको सरकार ढालिएको वताउनुभयो 
अर्का पोलिटव्यूरो सदस्य विमला घिमिरेले देशभर एमालेको पक्षमा लहर रहेको भन्दै एकजुट भएर निर्वाचनमा परिचालित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । 
पार्टीका पोलिटव्यूरो सदस्य सूर्य थापाले अरूको भरमा पार्टी धान्दै आएका प्रचण्ड र माधव नेपालको पार्टीलाई आगामी निर्वाचनमा पत्तासाफा पार्नुपर्ने बताउनुभयो । उहाँले एक दुई जिल्लामा सीमित रहेको राष्ट्रिय जनमोर्चा आगामी  निर्वाचनमा सकिने बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य बोमबहादुर विक लगायतले मन्तव्य राख्नुभएको थियो । 
नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसालको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा झन्डै एकहजार २०० कार्यकर्ताको उपस्थिति रहेको थियो ।