detail-img

‘देश र जनताका लागि जीवन समर्पित गरेको छु’ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारसँग कटाक्ष गर्ने रूचि आफूलाई नभएको तर सेटिङमा बजेट निर्माण जस्ता राष्ट्रघाती काम हुँदा मन पोल्ने वताउनुभएको छ । 
आइतवार ‘युवासँग केपी ओली’ कार्यक्रममा युवाका जिज्ञासामा केन्द्रित भएर सम्बोधन गर्दै अध्यक्ष ओलीले सेटिङमा बजेट बनाई नपाउनुपर्नेले करमा कटौती गरी सुुविधा पाएको, फाइदा लिएको र जनताले नपाएको वताउनुभयो । 
आफू प्रधानमन्त्री हुँदा देशको विकास निर्माणका लागि पैसाको कुनै कमी नभएको चर्चा गर्दै अध्यक्ष ओलीले ‘वर्तमान गठबन्धन सरकार बनेको एकबर्षभित्र कहाँबाट के अलच्छिन पस्यो, पैसा जति हरायो’ भन्नुभयो । 
आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, आर्मी हेडक्वाटर बनेको र ३९६ वटा अस्पताल एकै दिन  शिलान्यास गरेको उहाँले बताउनुभयो । 
‘अहिले विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ? पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो ?’
आफू प्रधानमन्त्री छँदा भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न अभियान चलाएको तर भ्रष्टाचारीहरूले सबै उस्तै हुन् भन्ने गरेकोमा असन्तुष्टी जनाउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘मैले आफू वस्ने गरेको घरजग्गा राज्यका नाममा पास गरिदिएको छु ।आफ्नो औषधि उपचार गर्न खर्च चाहिए पनि बेच्न नपाउने गरी राज्यलाई दान गरेको छु, म आफूलाई चाहिएको छैन भने मैले अरूका लागि भ्रष्टाचार गर्दिन्छु ?

उहाँले भन्नुभयो– म जति बाँच्छु, देश र जनताका लागि जीवन समर्पित गर्छु, यो मेरा अठोट छ । 
अध्यक्ष ओलीले देशमा स्वच्छ सरकार होस्, हरेक नेता इमान्दार र त्यागी होउन्, कोही आडम्बरी नहोस् भन्ने आफ्नो चाहना रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले युवाका विभिन्न जिज्ञासाको जवाफ दिँदै देशमा राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक परिवर्तन भएको चर्चा गर्नुभयो । 
राजनीतिक दलहरूमा युवालाई उपेक्षा गरिएको युवाको भनाईमा असहमति जनाउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको मन्त्रिपरिषद्मा धेरै युवा उमेर समूहका मन्त्री रहेको र अहिले पनि टाढा जानुपर्दैन, काठमाडौैं महानगरपालिकाको उपमेयरमा पार्टीले युवालाई अवसर दिएको देख्न सक्नुहुन्छ भन्नुभयो ।  
नेताहरूले नातावाद, कृपावादका रूपमा आफन्तलाई अवसर दिने गरेको युवाको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘मेरो भाइ छ झापामा । दश कठ्ठा जग्गामा खेती गरेर बसेको छ । पार्टीमा भद्रपुर नगरपालिका वडा कमिटीमा छ ।  उसलाई मैले केही गरेको सुन्नुभएको, देख्नुभएको छ ? त्यसैले एमालेको नेतृत्व  अरू जस्तो आफन्तका लागि मरिहत्ते गर्ने होइन ।’ 

देशको युवा शक्ति रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाका बारेमा युवाले राखेको जिज्ञासामा माओवादी हिंसाका कारण गाउँदेखि विस्थापित भई शहर र शहरमा पनि बस्न नसकेपछि  वैदेशिक रोजगारीमा जान शुरू भएको चर्चा गर्दै अध्यक्षले भन्नुभयो–  यस सिलसिलालाई देशमै रोजगारी सिर्जना गरेर र उद्यमशीलता सिर्जना गरेर रोक्न सक्छौं । 
उहाँले रेमिटेन्समा भरपर्ने अर्थतन्त्र अत्यन्त कमजोर हुन्छ, हामी आत्मनिर्भर अर्थतन्त्र चाहन्छौं भन्नुभयो ।  
अध्यक्ष ओलीले सबै मिलेर देश बनाउनुपर्ने भन्दै युवा भाइवहिनीहरूलाई आफूलाई महान् चिन्तक, कर्मयोगी र अनुशरणीय, हरेक क्षेत्रमा निष्ठावान् र कर्मठ व्यक्तित्व बनाउन सक्नुहोस् भनी शुभकामना दिनुभयो ।