detail-img

वर्तमान गठबन्धन समृद्धिको बाधक 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भारत प्रवासमा रहेका नेपालीहरूलाई आगामी आम निर्वाचनमा मतदानका लागि स्वदेश फर्कन, देश र जनताको हितको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । 
महासचिव पोखरेलले प्रवासी नेपाली संघ भारतको शनिबार पञ्जावमा आयोजित विस्तारित बैठक तथा अन्तर्क्रियालाई भर्चुअल सम्बोधन गर्दै भारतमा रहेका लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा स्वदेश फर्कनका लागि त्यहाँको संगठनलाई पहल गर्न निर्देशन दिनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– भारत प्रवासमा लाखौं मतदाता हुनुहुन्छ । नेपालमा सामाजिक न्याय, विकास र समृद्धिका लागि उहाँहरूको मतको ठूलो महत्व रहन्छ । त्यसैले तपाईं प्रवासी नेपाली संघमा संगठित साथीहरूले उहाँहरूलाई मत सदुपयोगका लागि ‘कन्भिन्स’ गर्ने काम गर्नुपर्छ ।  
यतिवेला मुलुकमा समाजवादतर्फको यात्रामा नेपाली काँग्रेस बाधकका रूपमा रहेको र त्यसकै पछि लागेर माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनमा घात गरेको हुँदा भारत प्रवासमा रहेका नेपालीलाई एमालेको पक्षमा ल्याउन योजनाबद्ध अग्रसरता देखाउन महासचिव पोखरेलले आग्रह गर्नुभयो । 
नेपालमा दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली काँग्रेसममध्ये नेपाली काँग्रेसले दलाल, नोकरशाही, पुँजीपति वर्गको सेवा र एमालेले सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने चर्चा गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनले राज्यसत्तामा कुन वर्गको प्रतिनिधित्व हुने भन्ने निर्धारण गर्ने हुँदा मतदानको अवसर नछुटाउन आग्रह गर्नुभयो । 
महासचिव पोखरेलले विकास र समृद्धिको यात्रामा वर्तमान गठबन्धन बाधक रहेको वताउनुभयो । 
उहाँले प्रवासमा रहेका नेपालीले पञ्चायत विरोधी आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आम निर्वाचनका लागि पार्टीको घोषणापत्रमा राख्नेगरी प्रवासी नेपालीका समस्या लगायत सुझाव पठाउन  आग्रह गर्नुभयो । उक्त  तथा विस्तारित बैठकमा पार्टीका तर्फबाट अतिथिका रूपमा सहभागी हुन स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी जानुभएको छ ।