detail-img

पाल्पामा प्रशिक्षण सम्पन्न–‘आगामी निर्वाचन देशकै लागि जीवन– मरणको लडाइँ हो’

तानसेन (पाल्पा) । नेकपा (एमाले) जिल्ला कमिटी पाल्पाले शनिवार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
प्रशिक्षणमा पार्टीका सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्माले जिल्लाका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । 
प्रशिक्षणमा सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको वताउनुभयो । उहाँले भन्नुभयो– ‘यस निर्वाचनमा एमाले पराजित भए मुलुक नै असफल हुने छ ।’ 
‘एमालेले जिते देशको स्वाधिनता, स्वतन्त्रता र  आत्मसम्मान जोगिने छ, हार्यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ । समाजवादको यात्रा रोकिने छ । पूँजीवादी शक्तिको आडमा एमाले विरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेका छन् । राष्ट्रियताको हितमा काम गरिरहेको एक मात्र पार्टी एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भइरहेको छ । मुलुकको हित र जनताको जनजीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएका छन् ।’ 
सचिव विष्टले ती नेताहरूको स्वार्थ पूरा हुुन नदिनका लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।  ‘एमालेले चुनाव जित्यो भने आर्थिक सामाजिक रुपान्तरणको काम अगाडि बढ्ने छ अन्यथा यो अभियान रोकिने छ । यस्तो कठिन अवस्थामा हुन गइरहेको निर्वाचनमा एमालेको बहुमतको जित हुने गरी गतिविधि सञ्चालन गर्नुपर्छ ।’
नेकपा एमालेको सरकारले गरेका काम र गठबन्धन सरकारले एक वर्षमा गरेका कामका बारेमा जनतालाई छर्लङ्ग बुझाउन सके आगामी निर्वाचनमा एमालेको जित पक्का भएको उहाँको भनाई थियो । काँग्रेसलाई इन्जिन र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई डिब्बाको संज्ञा दिंदै उहाँले भन्नुभयो–‘इन्जिनमा लतारिएका डिब्बा एक समय चुँडिएर बाटोमा अलपत्र हुनेछन् ।’ 
पार्टीका कार्यकर्तालाई आन्तरिक रुपमा एकताबद्ध भएर जसले उम्मेदवारीको अवसर पाए पनि एकताका साथ निर्वाचनमा जान निर्देशन दिँदै आगामी निर्वाचन पार्टीलाई जिताउने मौका हो भन्ने कुरालाई हेक्का राखेर जुनसुकै उम्मेदवार आए पनि निर्वाचनमा पार्टीलाई जिताउने गरी प्रचार अभियानमा जुट्न आग्रह गर्नुभयो । 
त्यसैगरी एमाले सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पछिल्लो समयमा एमाले झनै बलियो बनेको वताउनुभयो । 
सत्ता गठबन्धनमा रहेका दलहरू निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरेर जित्ने अवस्था नभएपछि गठबन्धन बनाएको चर्चा गर्दै विश्वकर्माले आगामी निर्वाचनमा गठबन्धनलाई एमालेले धोबीले कपडा पछारे जस्तै पछार्ने वताउनुभयो । 
‘एक वर्षसम्म गठबन्धन सरकारले केही गर्न नसकेपछि जनता निरास छन्, एमालेबाट नै आशा गरिरहेका छन् । एमालेप्रति पछिल्लो समयमा जनताको लहर बढ्दै गएको अवस्थाले यसको पुष्टि गर्छ ।’ भन्दै सचिव विश्वकर्माले पार्टी एकतालाई प्रभावकारी बनाएर चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।