detail-img

अध्यक्ष ओलीद्वारा आम मतदातालाई धन्यवादः निर्वाचनमा सरकारको व्यवहार पूर्वाग्रही


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतदानमा भाग लिने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
अध्यक्ष ओलीले मतदानमा भाग लिनुभएका आम मतदाता, निर्वाचनमा खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन आयोग र सम्बद्ध सबैलाई धन्यवाद भन्नुभएको छ ।

निर्वाचन सम्पन्न भए लगत्तै प्रेस वक्तव्य प्रकाशित गरी अध्यक्ष ओलीले सत्ताधारी गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको वताउनुभएको छ । अध्यक्ष ओलीले नेकपा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहे पनि पाँचदलीय गठबन्धनबाट स्वच्छ निर्वाचन विपरीत विभिन्न ठाउँमा उत्तेजनापूर्ण गतिविधि गरी हिंसा भड्काउने जस्ता कार्य भएको र गृह प्रशासन अस्वाभाविक रूपमा असन्तुलित देखिएको जनाउनुभएको छ ।

अध्यक्ष ओलीले स्वतन्त्र निर्वाचनका विरुद्ध भएका घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति दुःख व्यक्त गर्नुभएको छ । विभिन्न जिल्लामा स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएको र भय त्रास सिर्जना गरी मतदातालाई आतङ्कित पारिएका स्थानमा पुनः मतदानको माग गरी उजुरी समेत गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यसलाई गम्भीरतापूर्वक लिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउनुभएको छ ।
अध्यक्ष ओलीको प्रेस वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः
३० बैशाख २०७९
प्रेस वक्तव्य
सत्ताधारी गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले हाम्रो आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गर्नुभयो । मतदानमा भाग लिनुहुने आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछु । मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानको लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत ग¥यो ।

लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो । ती स्थानमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित देखियो । बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मीलाई हटाई निर्वाचन बिथोल्न खोजियो । केही पालिकाका प्रमुखका उम्मेदवारहरुलाई मतदान केन्द्र निरीक्षणमा बाधा पु¥याइयो । यस प्रकृतिका घटना दर्जनौ स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनका विरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।
स्वच्छ निर्वाचन विपरितका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरुलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरी समेत गरिएको छ । यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु ।

अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद भन्न चाहन्छु । स्थानीय तहको यस दोस्रो निर्वाचन सम्पन्न गर्न नेतृत्व गर्ने निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गर्दछु ।
केपी शर्मा ओली
अध्यक्ष