detail-img

ओखलढुङ्गामा मध्याबधि समीक्षा 

विराटनगर । कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका गतिविधि प्राप्त भएका छन् । 
नेकपा (एमाले) ओखलढुङ्गा जिल्ला कमिटीले  मिसन ग्रासरूट अभियानको मध्यावधि समीक्षा बैठक सम्पन्न गरेको छ । पार्टीका सचिव तथा मिसन ग्रासरुट कोशी प्रदेशका संयोजक टोपबहादुर रायमाझीको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष शंकर कटवालको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न भएको हो ।
उक्त बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्यहरू उषाकला राई, विनोद ढकाल, पर्शुराम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।  बैठकले आगामी दिनमा मिसन ग्रासरूट कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने निर्णय गरेको जिल्ला अध्यक्ष कटवालले जानकारी दिनुभयो ।
सुनसरीमा अभिमुखीकरण कार्यक्रम
यस्तै सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ कमिटीले पार्टी सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश प्रसाद कुसियैतले कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो । 
धनपालथानमा सदस्यता वितरण
मोरङको धनपालथान वडा नं. १ मा सोमबार विस्तारित बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा पार्टी सदस्यता वितरण अभियान पनि सुरु भएको छ ।
यस्तै संखुवासभामा मिसन ग्रासरुट अभियान अन्तर्गत अनुगमन तथा प्रशिक्षण सम्पन्न भएको छ । सोमबार नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य विनोद ढकाललगायतको उपस्थितिमा संखुवासभामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।