detail-img

‘जनजीविकाका समस्या सम्बोधन गर्न एमालेको सरकार आवश्यक’ 

अछाम । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकास र समृद्धिका लागि आगामी निर्वाचनमा पार्टीको एकल बहुमत आउने गरेर खट्न कार्यकर्ता निर्देशन दिनुभएको छ । अछामको सदरमुकाम मंगलसेनमा नेकपा (एमाले) अछामले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा तीनै तहको निर्वाचनमा एकल बहुमत ल्याउन सबै सक्रिय भएर लाग्न निर्देशन दिनुभएको हो । 
देशमा स्थायी शान्ति, विकास र समृद्धि ल्याउन आगामी निर्वाचन केन्द्रित भएर पार्टीले जिम्मेवार नेता कार्यकर्तालाई टोलसम्म खटाएको उपाध्यक्ष पौडेलको भनाइ छ । 
राजनीतिक, भौतिक र वैचारिक रूपमा एमाले अन्य पार्टी भन्दा अग्रणी रहेको, राष्ट्र र जनताको पार्टी भएकाले देशभित्र र बाहिरबाट एमालेमाथि प्रहार भइरहेको भनाई उहाँले राख्नुभयो ।  एमालेसँग दृढ सङ्कल्प र स्पष्ट विचार भएको नेतृत्वसँगै जनताको साथ भएकाले सक्षम पार्टी भएको उहाँको भनाइ छ ।


उपाध्यक्ष पौडेलले जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्न एमालेको सरकार नै आवश्यक हुने भएकाले पार्टीका कार्यकर्ता पार्टीको योजना अनुसार खट्नुपर्ने वताउनुभयो ।  
वर्तमान संविधान नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकै कारण निर्माण भएको भन्दै उपाध्यक्ष पौडेलले एमाले संविधान निर्माणको नेतृत्वकर्ता रहेको भनाइ राख्नुभयो । ‘अध्यक्ष ओली लचिलो भएको भए दोस्रो संविधानसभा पनि संविधान नबनाएर बिघटन हुन्थ्यो’ पौडेलले भन्नुभयो– अध्यक्ष ओलीको संविधान जारी गर्नेपर्ने अडानमा एमालेको नेतृत्वमा संविधान बन्यो र जनताको अधिकार सुनिश्चितसँगै देश समाजवादको बाटोमा जान सहज भयो ।  
प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का सचिव लेखराज भट्टले मिसन ग्रासरुटको उद्देश्य अनुरुप सुदूरपश्चिम प्रदेशमा पार्टी केन्द्रित भएको भन्दै यसलाई उत्तम उपयोग गर्नुपर्नेमा भनाइ राख्नुभयो । यस्तै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले मिसन ग्रासरुटबाट पार्टीलाई सबै पक्षबाट एकताबद्ध र बलियो बनाएर जानुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले पनि मन्तव्य राख्नुभएको थियो । 
प्रशिक्षणमा अछामबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने नेता, जिल्ला कमिटी, एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय र जिल्ला अध्यक्ष, पालिका कमिटीका अध्यक्ष, वडा कमिटीका अध्यक्षलगायतका कार्यकर्ताको सहभागिता रहेको थियो । 

यसैबीच, मिसन ग्रासरुटलाई प्रभावकारी बनाउन नेकपा (एमाले) अछामले हालै प्रशिक्षण सामग्री रहेको पुस्तक प्रकाशन गरेको छ । ८७ पृष्ठको पुस्तकमा ६३ वटा विषयवस्तु राखेर अछाम दर्पण नामक पुस्तक प्रकाशन गरिएको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । 
पुस्तकमा मिसन ग्रासरुटको उद्देश्य, कार्यदिशा र कार्ययोजना गरेर नौवटा विषयवस्तु राखिएको छ । यस्तै ११ विषयवस्तु राखेर मिसन ग्रासरुट प्रशिक्षणका बुँदाहरू राखिएका छन् । पार्टीको स्कुल विभागद्वारा तयार पारिएको आधारभूत, माध्यमिक र उच्च तहमा प्रशिक्षणका निर्धारित पाठ्यक्रम समावेश गरिएको छ । जसमध्ये आधारभूत तहमा ११÷११ र उच्च तहको प्रशिक्षणमा १८ विषयवस्तु समेटिएको अध्यक्ष बोहराको भनाइ छ ।