UML Today

अध्यक्ष ओलीद्वारा त्रिशुली नदीले धादिङको गल्छीमा पुर्याएको क्षतिको स्थलगत अवलोकन

Share

१७ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छीमा पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभयो । 
साथै, उहाँले नुवाकोटको वेलकोटगढी पुगेर बाढीले क्षति पुर्याएका त्रिशुली नदी किनार वारिपारिका वस्ती, फाँट र क्षतिग्रस्त पुलहरुको पनि निरीक्षण गर्नुभयो । 
अध्यक्ष ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, नेता प्रदीप ज्ञवाली लगायत केन्द्रीय सदस्यहरु, हुनुहुन्थ्यो । 
अध्यक्ष ओलीले धादिङको गल्छीमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित स्थानीय बासिन्दाको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको थियो । 
निरीक्षणका क्रममा उहाँले प्रभावित स्थानीयको गुनासोसमेत सुन्नुभएको थियो । स्थानीय बासिन्दाले उद्धार, राहत तथा पुनर्स्थापनाका क्रममा देखिएका समस्या र तत्काल आवश्यक सहयोगबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । 
अध्यक्ष ओलीले गल्छी गाउँपालिका कार्यालयमा पुगेर क्षतिबारे विस्तृत जानकारी लिनुभएको थियो । उहाँले बाढीका कारण भएको भौतिक क्षति, प्रभावित नागरिकको अवस्था तथा राहत वितरणको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
त्यहाँ गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले त्रिशुली नदीले पुर्याएको क्षतिबारे जानकारी गराउनुभएको थियो । त्रिशुलीको बाढीले गल्छी गाउँपालिकाका १, ४, ६ र ८ नम्बर वडामा ठूलो भौतिक क्षति पुर्याएको खतिवडाले जानकारी गराउनुभयो । अध्यक्ष खतिवडाका अनुसार, गल्छीमा बाढीबाट २७७ घरमा क्षति पुगेको र तिमध्ये ४८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । 
गल्छी गाउँपालिकाको बैरेनीमा रहेको अस्पताल, निजी घरहरु र सडकमा बालुवासहितको हिलो पसेको छ । 
बाढी प्रभावित क्षेत्रमा नेकपा (एमाले)सम्बद्ध जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, युथ भोलेण्टियर फोर्स, रिटर्नी फेडेरेशन नेपाल लगायत सम्मिलित टोली उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् ।
धादिङको गल्छीमा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा ६० जनाको टोली आजदेखि पीडितहरुको सहयोगमा परिचालित छ । उक्त टोलीले आज बाढी पसेर क्षति पुर्याएका स्थानीयका घरभित्रको सफाइबाट काम शुरु गरेको छ । धादिङमा बाग्मती प्रदेश कमिटीका उपसचिव रमेश आचार्यको संयोजकत्वमा केन्द्रीय टोली उद्धार र राहतको काममा खटेको छ । 
धादिङको निरीक्षणपछि अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न प्रभावित स्थानको समेत अवलोकन गर्नुभयो । अध्यक्ष ओलीलाई पार्टीका केन्द्रीय सदस्य भूमि त्रिपाठी, बाग्मती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य लगायतले बाढीको क्षतिबारे जानकारी गराउनुभएको थियो । 
भोटेकोशी र त्रिशुली नदीमा यही भदौ १० गते अकस्मात आएकोे विनाशकारी बाढीले अकल्पनीय रुपमा ठुलो जनधनको क्षति पुर्याएको छ । बाढी आएकै दिनबाट नेकपा (एमाले)का स्थानीय कमिटी र जनसंगठनहरु उद्धार र राहतको काममा खटेका छन् भने पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले भदौ ११ गते नै नुवाकोटको त्रिशुली पुगेर बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको थियो । उक्त टोलीले स्थलगत निरीक्षणको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाएपछि पार्टीबाट ‘बाढी पीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ गठन गरी रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा केन्द्रबाटै टोली खटाएर उद्धार तथा राहत वितरणको काम शुरु भएको छ ।