रसुवा, धादिङ र चितवनका लागि पनि तयारी
१६ भदौ (२०८३), काठमाडौं । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ ।
नेकपा (एमाले)ले हिजो (२०८३ भदौ १५ गते) पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरी समितिमा रहेका सदस्यहरुलाई जिल्लामा संयोजन गर्ने गरी कार्यविभाजन समेत गरेको थियो ।
सो अनुसार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेण्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ लगायतको एउटा टोली भोटेकोशी विपद् पीडितहरुलाई निःशुल्क खानाको व्यवस्थाका लागि आवश्यक खाद्यसामग्रीसहित नुवाकोट प्रस्थान गरेको छ ।
यसैगरी, रसुवा जिल्लाका लागि संयोजक तोकिनुभएका पार्टीका केन्द्रीय सदस्य तथा जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको अर्को टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने तयारी भइरहेको छ भने धादिङ र चितवन जिल्लाको संयोजकको जिम्मेवारीमा रहनुभएका बाग्मती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य नेतृत्वको टोली पनि त्यसतर्फ प्रस्थान गर्ने तयारी गरिरहेको छ ।
सबै टोलीमा पार्टीका जनसङ्गठनहरु, पार्टीका प्रदेश र जिल्ला कमिटीहरु परिचालित हुने व्यवस्था समितिको कार्यविभाजनमा गरिएको छ ।
पार्टीका सचिव तथा बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समितिका संयोजक महेश बस्नेतले नुवाकोटमा खटिएको टोलीलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरबाट विदाई गर्नुभयो । राहत सामग्री वितरणको काम प्रदेश, स्थानीय तह, स्थानीय प्रशासन र पीडितहरुसँगको समन्वयमा गरिने उहाँले बताउनुभयो । टोलीले बाढी प्रभावित क्षेत्रमा पीडितलाई खाना ख्वाउनका लागि फुड स्टेशन खडा गर्ने भएको छ ।
पार्टीले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तिब्रता दिन रु १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युथ भोलेण्टियर फोर्स, जिफण्ट लगायत नेकपा (एमाले) का जनसंगठनहरु र स्थानीय पार्टी कमिटी भोटेकोशी बाढीपीडितको उद्धार र राहत वितरणका लागि भदौ १० गतेदेखि नै राहत सामग्री र आवश्यक जनशक्तिसहित परिचालित रहेका छन् ।
