–अन्तर्राष्ट्रिय सम्बन्धमा ‘जसको शक्ति, उसकै भक्ति’ (Might is right) भन्ने खतरनाक सिद्धान्त फेरि ब्युँताउन खोजिएको छ
–कानून शक्तिभन्दा माथि हुनुपर्छ, सार्वभौमसत्ता प्रभुत्वभन्दा माथि हुनुपर्छ र विश्व अराजकताले होइन, नियमले चल्नुपर्छ
–एउटा राष्ट्र घाइते हुन सक्छ तर पराजित हुँदैन, परीक्षित हुन सक्छ तर झुक्दैन
२४ साउन (२०८३), हवाना (क्युबा) । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माणका लागि विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीहरूलाई नयाँ आत्मविश्वासका साथ एकताबद्ध हुन आह्वान गर्नुभएका छ ।
क्युबाको राजधानी हवानामा आयोजित कम्युनिष्ट तथा मजदुर पार्टीहरूको २४औँ अन्तर्राष्ट्रिय बैठक (EIPCO) लाई सम्बोधन गर्दै नेता ज्ञवालीले साम्राज्यवादी र प्रभुत्वशाली शक्तिहरूका कारण विश्व गम्भीर सङ्कटतर्फ धकेलिएको बताउनुभयो ।
बैठकमा उहाँले वर्तमान विश्व व्यवस्था, असमानता, क्युबाप्रतिको ऐक्यबद्धता र नेपालको राजनीतिक परिस्थितिबारे पार्टीको स्पष्ट दृष्टिकोण राख्नुभएको थियो ।
बदलिँदो विश्व व्यवस्था र शक्तिहरूको ‘दम्भ’का कारण विश्व अशान्त युगमा प्रवेश गरेको औँल्याउँदै नेता ज्ञवालीले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था, बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिका कमजोर पारिएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा ‘जसको शक्ति, उसकै भक्ति’ (Might is right) भन्ने खतरनाक सिद्धान्त फेरि ब्युँताउन खोजिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
नेता ज्ञवालीले भन्नुभयो– कानून शक्तिभन्दा माथि हुनुपर्छ, सार्वभौमसत्ता प्रभुत्वभन्दा माथि हुनुपर्छ र विश्व अराजकताले होइन, नियमले चल्नुपर्छ । साथै, पश्चिमा प्रभुत्व क्रमशः क्षीण हुँदै गएको र ब्रिक्स (BRICS) जस्ता उदाउँदा आर्थिक केन्द्रहरूको उदयले बहुध्रूवीय विश्वको सङ्केत गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
कृत्रिम बुद्धिमत्ता (AI) र प्रविधिले श्रम र बजारको स्वरूप बदलिदिएको वर्तमान सन्दर्भमा परम्परागत शक्तिहरूले वर्चस्व जोगाउन खोजेको उहाँको भनाइ थियो ।
नैतिक सङ्कट र समाजवादको अपरिहार्यता
विश्वमा थुप्रै सम्पत्ति र प्रविधि विकास भए पनि करिब एक अर्ब मानिस अझै पनि चरम गरिबीमा बाँचिरहेको वास्तविकता औँल्याउँदै नेता ज्ञवालीले यो केवल आर्थिक सङ्कट मात्र नभई ठूलो नैतिक सङ्कट भएको बताउनुभयो ।
समाजवाद नै यस अन्यायको सबैभन्दा मानवीय र विवेकपूर्ण उत्तर हो । माक्र्सवाद कुनै पुराना सूत्रहरूको सङ्ग्रहालय नभई समाज बुझ्ने र रूपान्तरण गर्ने एक जीवित पद्धति भएको उहाँले प्रष्ट पार्नुभयो ।
क्युबाप्रति अटुट ऐक्यबद्धता
नेता ज्ञवालीले क्युबाका जनता, सरकार र क्युबाको कम्युनिस्ट पार्टीप्रति गहिरो ऐक्यबद्धता प्रकट गर्नुभयो ।
दशकौँदेखिको अन्यायपूर्ण नाकाबन्दी र कठिनाइहरूलाई क्युबाली जनताले साहस, मर्यादा र दृढताका साथ झेलेको उल्लेख गर्दै उहाँले भन्नुभयो– एउटा राष्ट्र घाइते हुन सक्छ तर पराजित हुँदैन, परीक्षित हुन सक्छ तर झुक्दैन ।
नेपालको सन्दर्भ
जनताको बहुदलीय जनवाद र राष्ट्रिय आकाङ्क्षा नेकपा (एमाले)को वैचारिक मार्गदर्शनबारे बोल्दै नेता ज्ञवालीले नेपाली सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग नै ‘जनताको बहुदलीय जनवाद’ (जबज) भएकोबारे प्रकाश पार्नुभयो ।
लोकतन्त्र र सामाजिक न्याय एकअर्काका पूरक हुन् भन्ने कुरा जबजले प्रमाणित गरेको उहाँको भनाइ थियो ।
एमालेको मूल राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको उल्लेख गर्दै उहाँले नेपालले सार्वभौम समानता, आन्तरिक मामिलामा अहस्तक्षेप र पारस्परिक लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गरिरहेको बताउनुभयो ।
नेपालमा गतबर्ष जेनजी (Gen Z) को आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधिप्रति लक्षित गर्दै नेता ज्ञवालीले लोकतन्त्रमा शान्तिपूर्ण विरोधको अधिकार भए पनि लोकतान्त्रिक संस्था र सार्वजनिक सम्पत्तिमाथिको तोडफोडलाई क्रान्ति भन्न नसकिने स्पष्ट पार्नुभयो ।
बाह्य शक्तिहरूले आन्तरिक असन्तोषलाई उपयोग गरी अस्थिरता निम्त्याउन खोजेकोप्रति सचेत गराउँदै उहाँले तमाम कठिनाइहरूका बाबजुद नेपाली जनताले सधैँ लोकतन्त्रको रक्षा गर्दै आएको र आगामी दिनमा पनि गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।
सम्बोधनको अन्त्यमा नेता ज्ञवालीले भय, प्रभुत्व र असमानताले शासित संसारको सट्टा शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माणका लागि विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीहरूलाई नयाँ आत्मविश्वासका साथ एकताबद्ध हुन आह्वान गर्नुभयो ।
