पाचौं राष्ट्रिय महाधिवेशन

राजनीतिक प्रतिवेदन

अध्यक्ष मण्डल

प्रिय प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरू,

पार्टीको चीर प्रतिक्षित राष्ट्रिय महाधिवेशन अहिले आयोजित भएको छ । हामीले एकीकृत पार्टी बनाएको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । सिद्धान्त, नीति, विचार, कार्यक्रम, सङ्गठन र रणनीति र कार्यनीति सबै हिसाबले पार्टीलाई सुस्पष्ट र सुदृढ रूपमा संस्थागत गर्न पार्टीको सर्वोच्च संस्था महाधिवेशनको आवश्यकता हुन्छ । यसबीच हामीहरू पारस्परिक सहमतिका न्यूनतम दस्तावेजहरू अघि सारेर काम चलाइरहेका छौं । यो दुई वर्षको अवधिमा हामीले आम निर्वाचन र स्थानीय निर्वाचनजस्ता महत्वपूर्ण राजनीतिक अभियानमा सशत्तः रूपले भाग लिएका छौं । हाम्रो पार्टी देशको एउटा अपरिहार्य शक्तिको रूपमा स्थापित भएको छ । आवश्यक पर्ने सैद्धान्तिक र सङ्गठनात्मक सबै सवालमा सुस्पष्ट रूपले विचार अघि नसारी यत्रो ठूलो शक्तिलाई विचार र काम दुवै हिसाबले एकताबद्ध एवं अनुशासित बनाइराख्न सजिलो हुँदैन । महाधिवेशन ती सवालहरूबारे फैसला लिने पार्टीको सर्वोच्च अङ्ग हो ।

करिब तीस वर्ष विभाजित रहेको कम्युनिस्ट आन्दोलनलाई अहिले मूलतः एकीकृत गरिएको छ । यो पार्टी नेकपा (एमाले) वर्तमान कम्युनिस्ट आन्दोलनको मूलधार हो भन्ने कुरा स्वीकृत तथ्य बनेको छ । देशको प्रजातान्त्रिक आन्दोलन तथा कम्युनिस्ट आन्दोलनलाई यो ठाउँसम्म ल्याउन आफ्नो जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति सर्वप्रथम म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु र हार्दिक सम्मान व्यक्त गर्दछु ।

सबैलाई थाहा छ– दुनियाँमा कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक स्थितिमा छ । समाजवादी आन्दोलन विघटन र पुनःगठनको दौरबाट गुज्रिदै छ । समाजवाद, साम्यवादविरोधी बाहिरी तत्वहरूबाहेक यो आन्दोलनभित्रका विसर्जनवादी र जडसूत्रवादी प्रवृत्तिहरू पनि आन्दोलनको रक्षा र विकासको बाटोमा बाधाको रूपमा उपस्थित छन् । यी दुवैखाले गलत प्रवृत्तिका विरुद्ध जुझ्दै नेपालमा हाम्रो पार्टी नयाँ सम्भावनाको साथ अघि बढिरहेको छ । विश्व कम्युनिस्ट आन्दोलनभित्र हमेसा गलत विचार र प्रवृत्तिविरोधी सङ्घर्ष जारी रहेको छ । पुँजीवाद प्रतिक्रियावादविरोधी वर्गसङ्घर्ष र गलत विचार प्रवृत्तिविरोधी वैचारिक सङ्घर्षको क्रममा नै माक्र्सवादको रक्षा र विकास हुँदै आएको छ । हरेक आन्दोलनका उतारचढावहरू हुन्छन् । कम्युनिस्ट आन्दोलन पनि यसको अपवाद छैन । माक्र्सवाद रचनात्मक र गतिशील सिद्धान्त हो । कम्युनिस्ट आन्दोलनभित्र देखिएका विद्यमान विसर्जनवाद र जडसूत्रवादका विरुद्ध सही माक्र्सवादी–लेनिनवादी विचारले विजय हासिल गर्नेछ । यो सही धाराको प्रतिनिधित्व गर्दै देश र प्रवासका अनेकौं मोर्चाहरूमा सङ्घर्षरत हजारौं पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दै यस महाधिवेशनमा भाग लिन आउनुभएका तपाईं सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकहरूको हार्दिक स्वागत एवं सङ्ग्रामी अभिवादन व्यक्त गर्दछु ।

निरंकुश राजतन्त्रको नेतृत्व भएको निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय राजनीतिक व्यवस्थाको स्थापना भए ययता देशको कम्युनिस्ट आन्दोलनमा पनि नयाँ मोड सुरु भएको छ । विचार, राजनीति र कार्यनीतिको हिसाबले कम्युनिस्ट आन्दोलनमा धु्रवीकरण तथा एकीकरणको प्रक्रिया तेज भएको छ । विसर्जनवाद अहिले कम्युनिस्ट आन्दोलनभित्रको मुख्य खतरा हो । तर जडसूत्रवादप्रति पनि कुनै मोलाहिजा गर्न सकिन्न । यस्तो बेलामा माक्र्सवादी वैज्ञानिक विचार प्रणालीलाई दृढताका साथ अनुसरण गर्ने कम्युनिस्टहरू एकीकृत हुनु निर्णायक महत्व राख्ने विषय हो ।

नेपाली काङ्गे्रस बहुदलीय व्यवस्थाको रूपमा भएको राजनीतिक परिवर्तनलाई आफ्नो एकाधिकारवादी नियन्त्रणमा राख्न उद्यत छ । सामन्ती निरंकुशतावादी तत्वहरू मौका पर्खेर बसिरहेका छन् । समाजका परम्परावादी पुराना दक्षिणपन्थी तत्वहरूसँग प्रतिगामी गठबन्धन गर्दै वामपन्थी शक्ति र जनताविरुद्ध नेपाली काङ्गे्रस सर्वसत्तावादी ढङ्गले शासन गर्न खोजिरहेको छ । आन्दोलनका उपलब्धिहरूको रक्षा गर्न सर्वसत्तावादका विरुद्ध प्रहार केन्द्रित गर्नु जरुरी भएको छ । यस्तो बेलामा आयोजित यस महाधिवेशनको काँधमा बहुतै गम्भीर दायित्वहरू छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा आएका फरबदलहरूलाई विश्लेषण गर्दै पार्टीका सिद्धान्त, विचार, कार्यक्रम, रणनीति र कार्यनीति जस्ता सबै अहम् सवालहरूमा ठोस क्रान्तिकारी निस्कर्षहरू निकाल्न सक्नुपर्छ । यही पृष्ठभूमिमा म कमरेडहरूसमक्ष वर्तमान परिस्थिति र पार्टीको दायित्वबारे राजनीतिक विश्लेषण प्रस्तुत गर्नै अनुमति चाहन्छु ।

नवयुग

ठेगाना